संसद् विघटनको विकल्प थिएन, वैशाख ३० मा महासंकट आउँदैछ: ओली

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको विकल्प नरेहको दाहोर्याएका छन्। स्थानीय तहको निर्वाचनका सन्दर्भमा एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले संसद् विघटनको विकल्प नरहेको उल्लेख गरेका हुन्।
उनले भने, ‘संविधानको रक्षा गर्न, जनाधिकारको संरक्षण गर्न र देशलाई थप षड्यन्त्रको चक्रव्यूहबाट जोगाउन लोकतन्त्रप्रति प्रतिबद्ध रहेको नेकपा एमाले सरकारका सामु अन्य विकल्प थिएन। फलस्वरूप जनादेशका लागि जनतामा जाने निष्कर्षमा हामी पुग्यौँ। तर अदालतको परमादेशले सरकार बदलियो। सार्वभौम नेपाली जनताको आफ्नो सरकार निर्माण गर्ने संवैधानिक अधिकारमाथि कुठाराघात भयो।’
ओलीले कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको पनि आरोप लगाए। ओलीले भने, ‘नेपाली कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लियो। सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न, पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यवोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्यो।’
यस्तै संसद् विघटनपछि सर्वोच्च अदालतले पुनःस्थापना गरी नयाँ सरकार गठनका सन्दर्भमा दिएको आदेशप्रति लक्षित गर्दै ओलीले भने, ’संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो। राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्यो। कांग्रेसले संसद्लाई बन्धक बनायो, स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो।’
यस्तै ओलीले वैशाख ३० मा महासंकट आउने बताएका छन्। उनले भने, 'उहाँहरूलाई महासंकट आउँदैछ। कस्तो दिन छान्नुभएछ उहाँहरूले। यो मेरो कुरा होइन ज्योतिषीहरूको कुरा हो।'
वैशाख २५, २०७९ आइतबार ११:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।