निर्वाचन सुरक्षामा खटिँदा मृत्यु भएमा म्यादी प्रहरी र सुरक्षाकर्मीका परिवारलाई २० लाख दिइने

काठमाडौंः सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
‘निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई रु. बीस लाख आर्थिक सहायता उपलब्ध गराउने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ।
त्यस्तै बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ।
बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ।
वैशाख २५, २०७९ आइतबार ११:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।