देउवा-प्रचण्ड-ओली: एकअर्कालाई गाली गरेरै बिताउँछन् चुनावी सभा

काठमाडौंः सत्ता गठबन्धन र प्रतिपक्षी दुवैले आफ्ना कार्यकर्ता र तल्लो तहको नाममा उर्दी जारी गर्ने गरेका छन्। स्थानीय तहको स्वायत्ततामाथि धावा बोल्ने गरेका छन्।
कहिले सत्ता गठबन्धनका शीर्ष नेताले एमालेको चर्को आलोचना गर्छन् भने कहिले सार्वजनिक मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको काउण्टर जवाफ दिन्छन्।
शनिबार त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुने चेतावनी दिए। ‘गठबन्धनविरुद्ध उम्मेदवारी दिने र बोल्नेका लागि पार्टीमा कुनै स्थान छैन’, देउवाले भने, ‘कारबाही गरेर निकाल्छौं।’
देउवा हिजो सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न जनकपुर पुगेका थिए। त्यसअघि देउवा बुटवल र दमौली पुगेका थिए।
‘गठबन्धनको पक्षमा माहोल छ, चितवनमा विपक्षमा बोल्नेहरू पनि हावा खाइसके’, उनले भने, ‘अब झण्डा बोकेर हिँड्छन्। कुनै समस्या छैन।’
देउवाले नागरिकताको समस्या पनि समाधान हुने आश्वासन दिँदै चुनावी पासा फालेर मधेशको सेन्टिमेन्ट जित्ने प्रयास गरे। ‘लामो समयदेखि नागरिकताबिना नागरिक हुनु कति ठूलो समस्या हो?’, उनले भने।
आमाबुबाले नागरिकता पाइसके पनि छोराछोरीले अझै पाउन नसकेका उनले बताए। ‘कति दुःखद् कुरा! अब जसरी हुन्छ नागरिकताको समस्या समाधान गर्छु’, देउवाले भने।
बुटवलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई जिताएर प्राप्त अधिकारको रक्षा गर्नुपर्ने उल्लेख गर्दै प्रतिक्रियावादीको नाइके ओली नेतृत्त्वको पार्टीलाई पुछारमा पुर्याउनुको विकल्प नभएको बताए।
शनिबार बिहान बुटवल पुगेका देउवाले ओलीले पाँच वर्षका लागि पाएको जनमत आफैंले सुरक्षा गर्न नसकेको बताए। उनले संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको उल्लेख गर्दै ओलीले संसद्मा विरोध सहन नसकेको बताए।
‘प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँदैन। ओलीजीको पार्टीलाई जिताएर के पाउनुहुन्छ?’ उनले प्रश्न गरे। उनले ओलीको गलत प्रवृत्ति, संविधान, लोकतन्त्र, शान्ति र स्थायित्वको लागि गठबन्धन गरिएको बताए।
दमौली पुगेर देउवाले गठबन्धनलाई सफल बनाइने बताए। कांग्रेसको नेतृत्त्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्म कायम रहने दावी गरे।
ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै ओलीकै नेतृत्त्वमा संसद् अवरुद्ध गरी सरकारलाई काम गर्न नदिइएको बताए।
जनकपुर पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको तागत लिएर निरंकुश तानाशाही प्रवृत्तिलाई परास्त गर्ने संकल्प गरिएको बताए।
‘संसद् विघटन हुँदा तत्कालका लागि हामीले पश्चगमनलाई परास्त गर्यौं, अहिले निर्वाचनको सम्मुखमा छौँ,’ प्रचण्डले भने, ‘लोकतन्त्र उल्ट्याउन चाहने निरंकुश तानाशाही प्रवृत्तिलाई स्थानीय तह, प्रदेश सभा र संघीय निर्वाचनसम्म जाँदा जनताको तागत लिने र त्यसलाई परास्त गर्ने र नयाँ युगतिर अगाडि बढ्ने संकल्प गरेका छौँ।’
मधेशका हक अधिकारका लागि मधेशका जनताले ठूलो संघर्ष गरेको स्मरण गर्दै प्रचण्डले एमालेले सदन अवरोध गरेर मधेशी जनताको नागरिकताको मुद्दालाई लोकतान्त्रिक ढंगले अगाडि बढाउन नदिएको आरोप लगाए।
प्रचण्डले संसद् खुलेपछि नागरिकता विधेयक अगाडि बढाइने आश्वासन दिए।
एमाले अध्यक्ष केपी शर्मा ओली इटहरी, धरान र विराटनगर पुगे। उनले पनि सत्ता गठबन्धनलाई गाली गर्नमै समय बिताए। सरकारमा गएर बाँडीचुँडी खान कांग्रेस र माओवादी गठबन्धन गरेर चुनावमा गएको बताए।
उनले एक्लै चुनाव लड्न नसकेर गठबन्धन गरेको दावी गरे। ‘गठबन्धन टालाटुली जोडेर बनाएको पुतली मात्रै हो यसको कुनै उद्देश्य छैन,’ उनले भने।
कुनै उद्देश्यबिनाको पार्टी र उम्मेदवारलाई सरकारमा नपुर्याउन मतदातालाई उनले आग्रह गरे। ओलीले गठबन्धन सरकारमा जान, बाँडीचुँडी खान र आफन्तलाई खुवाउन मात्रै बनाएको बताए।
ओलीले इटहरीको विकासको जिम्मा आफूले लिने पनि बताए। गठबन्धनप्रति आक्रामक रूपमा प्रस्तुत भएका ओलीले खाएर चुसेर ढाडिएकाहरू गठबन्धन बनाएर हिँडेको आरोप लगाए।
उनले कांग्रेसको जिउमा भन्किएका झिँगा धपाउन माओवादी र एकीकृत समाजवादी झम्के पछ्यौरी बनेको आरोप लगाए। उनले काङ्ग्रेस सत्तामा हुँदा कुनै काम नगरेको बताए।
एमालेले आइतबार भरतपुरबाट सत्ता गठबन्धनलाई काउण्टर दिने तयारी गरेको छ। भरतपुरका क्याम्पाचौरमा हुने जनसभालाई ओली लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
चुनावी सभाको पूर्वसन्ध्यामा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाए।
‘भरतपुर र डडेलधुरामा उनीहरूले के के गरेका छन्, के के भनेका छन् थाहै छ, गठबन्धनलाई नजिताउने हो भने दुर्घटना हुनसक्छ भनेर जनता तर्साउने, उत्तेजित पार्ने काम गरिरहेका छन्’ नेता थापाले भने।
आउने निर्वाचन दक्षिणपन्थी शक्ति र अग्रगामी समाजवादी शक्तिका बीचको भीषण संघर्ष भएको नेता थापाले बताए।
अहिलेको सरकार विकास र समृद्धिलाई कसरी रोक्ने भन्नेतर्फ लागेको भन्दै नेता थापाले सरकारले देशलाई आर्थिक संकटतर्फ धकेल्न थालेको बताए।
वैशाख २५, २०७९ आइतबार ०९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।