एमाले र माओवादीको चुनाव प्रचारमा प्रयोग गरिएका दुई वटा गाडीमा आगजनी

सुर्खेतः सुर्खेतमा निर्वाचन प्रचार-प्रसारमा प्रयोग गरिएका दुई वटा गाडीमा आगजनी गरिएको छ। गएराति वीरेन्द्रनगर–६ मंगलगढीमा रोकेर राखेको अवस्थामा दुई वटा गाडीमा अज्ञात समूहले आगजनी गरेको हो।
माओवादी केन्द्र र एमालेको चुनावी प्रचारमा प्रयोग भइरहेको एक स्कर्पियो र मिनीबसमा आगजनी गरिएको हो। होटल सत्कारअगाडि पार्किङ गरेर राखिएको माओवादीको प्रचारमा प्रयोग गरिएको बा१४च ६८३१ नम्बरको स्कर्पियोमा राति १२ः३० बजे र सेञ्चुरी बैंकको शाखा नजिक पार्किङ गरेर राखिएको एमालेको प्रचारमा प्रयोग गरिएको कर्णाली प्रदेश-०२–००१ख ००६१ नम्बरको एसएमएल मिनीबसमा राति २ बजेतिर आगो लगाइएको प्रहरीले जनाएको छ।
आगलागीबाट स्कर्पियो र मिनीबसमा क्षति पुगेको छ। पेट्रोल छर्केर आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आगलागी गरेको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए। उनका अनुसार घटनास्थल वरपरका सिसी क्यामेराहरूको पनि अध्ययन भइरहेको छ।
वैशाख २४, २०७९ शनिबार १३:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।