चुनाव प्रचारमा मदिरा पिएर हिंसात्मक गतिविधि हुनसक्ने भन्दै कास्कीमा बिक्री प्रतिबन्ध

पोखराः स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कास्कीमा निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले वैशाख २७ देखि निर्वाचनको मौन अवधिदेखि मदिराजन्य सामग्री बिक्री वितरण गर्न पूर्णरूपमा प्रतिबन्ध लगाएको हो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधि सुरु भएदेखि मतपरिणाम सार्वजनिक नभएसम्म पूर्णरूपमा मदिरा प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।
रात्रिकालीन व्यवसायलाई वैशाख २५ देखी २८ गतेसम्म राति ११ बजेसम्म, २९ गते राति ८ बजेसम्म र ३० गते निर्वाचनका दिन पूर्णरूपमा बन्द गराउने पनि निर्णय भएको छ। त्यसैगरी वैशाख ३१ गतेदेखि जेठ १० गते राति ११ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ।
निर्वाचन प्रचार–प्रसारका बेला मदिराजन्य पदार्थ सेवन गरी दलका कार्यकर्ताद्वारा हिंसात्मक क्रियाकलाप हुनसक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
वैशाख २४, २०७९ शनिबार १३:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।