भोजमा खाना बनाउन बोलाएर साथीको हत्या गर्ने पक्राउ

सप्तरीः भोज भतेरमा खाना बनाउन बोलाइ साथीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनी चोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयले आज मियाँलाई सार्वजनिक गरेको हो। निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्त्वमा पुगेको टोलीले उनलाई बोदेबर्साइनबाट पक्राउ गरेको हो।
मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टी टोल बस्ने ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या गरेका थिए। महतोको शव सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित खाँडोखोला नजिक रहेको सार्वजनिक पोखरीमा फेला परेको थियो।
शव फेला परेपछि प्रहरीलाई मियाँले फोनमा हत्या स्वीकार गरी आफूलाई पक्राउ गर्न चुनौती दिएका थिए। त्यसपछि उनी फरार भई भारतको बिहारमा लुकेर बस्दै आएका थिए।
मियाँ यसअघि विसं २०७४ जेठ १३ गते विष्णुपुर गाउँपालिका–७ बाट एक थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित पक्राउ परेका थिए। तत्काल पुर्पक्षका लागि कारागार चलान भएका उनी जरिवानापश्चात नौ महिनापछि रिहा भएका थिए।
प्रनाउ काफ्लेका अनुसार मियाँ अवैध लागूऔषध व्यापार गर्ने, लुकाइछिपाइ हतियार बोकी हिँड्ने र जनमानसमा डर, त्रासको वातावरण सिर्जना गर्ने आपराधिक समूहका व्यक्ति हुन्।
वैशाख २४, २०७९ शनिबार १२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।