चितवन जिल्ला कारागार र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई

चितवनः आउँदो स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जिल्लाका महत्त्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ। कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा जेठ २ गतेसम्मलाई सेनाले लिएको हो।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णयानुसार महत्त्वपूर्ण निकायमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको हो। निर्वाचनको समयमा प्रहरीको जनशक्ति पर्याप्त नहुने हुँदा सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको उनले बताए।
यस्तै स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्लामा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ। निर्वाचन सुरक्षा योजनाअनुसार अहिले मतदानस्थलको सुरक्षाको अवस्थाका बारेमा जानकारी लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।
उनका अनुसार अहिले मतदानस्थलको निरीक्षण, अनुगमनका काम भइरहेको छ। मतदानस्थलमा हुनसक्ने सम्भावित घटनाको समेत पूर्वानुमानका काम भइरहेको उनको भनाइ छ।
वैशाख २४, २०७९ शनिबार ०७:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।