गठबन्धन बिरोधीलाई देउवाको प्रश्नः काठमाडौँमा सृजना र चितवनमा रेनुलाई हरायो भने दुनियाँले के भन्छ?

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिरहेको बताएका छन्। पाँच दलीय गठबन्धनका तर्फबाट आज यहाँ आयोजित संयुक्त जनसभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा आफ्नै पार्टीभित्रका केहीले बखेडा झिकिरहेको बताएका हुन्।
‘मलाई पार्टी सभापति बनाएर सर्वाधिकार दिएका छन्। केन्द्रीय सदस्यको बहुमतले पनि गठबन्धन गर्ने कुरामा सहमति जनाएको हो। अहिले किन गठबन्धन चाहिँदैन भनिरहेका छन्। हाम्रै साथीहरूले बखेडा झिकिरहेका छन्,’ देउवाले भने।
काठमाडौँ महानगर र चितवन महानगरमा महिला नै उम्मेदवार उठेको भन्दै उनीहरूलाई हराउने काम नगर्न सबैमा अनुरोध गरे। ‘काठमाडौँमा सृजना सिंहलाई हरायो भने दुनियाँले के भन्छ ? चितवनमा रेणु दाहाललाई हरायो भने विश्वले के भन्छन् ? त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ,’ देउवाले भने।
सृजना सिंहका आमा बुबाले बिहे गरेर प्रकाशमान सिंहलाई दिएको भन्दै त्यसमा विरोध गर्ने काम बन्द गर्न सबैमा अनुरोध गरे। ‘अब सृजनाका आमाबुबाले बिहे गरेर प्रकाशमानको घरमा पठाइदिए त के गरून बिचारीले। प्रकाशमानको श्रीमतीलाई मेयरको टिकट दियो भने बखेडा झिकेर हुन्छ?,’ उनले प्रश्न गरे।
आफ्नो मन नहुँदा नहुँदै प्रधानमन्त्री बनाइएको स्मरण गराउँदै अहिले आएर धेरै निहुँ खोज्ने काम भइरहेको बताए। अहिलेको अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनअनुसार नै अगाडि बढ्नुपर्ने उनले बताए।
काठमाडौँमा सृजनालाई मेयरमा उठाउँदा प्रकाशमान सिंह डराएको भन्दै आफूले नै टिकट दिनुपर्छ भन्दै अगाडि बढेको बताए। चितवनमा रेनुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने गरेको भन्दै उनले भने, ‘रेनुलाई टिकट नदिउँ भन्दै हुनुहुन्थ्यो प्रचण्डजी त। तर, मैले राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले टिकट पाएकी हुन्।’
वैशाख २३, २०७९ शुक्रबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।