'र, मैले कांग्रेस नै छाडिदिएँ'

'र, मैले कांग्रेस नै छाडिदिएँ'

काठमाडौं : सरस्वती घलान (३१) काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ४ की वडाध्यक्षकी उम्मेदवार हुन्। अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसको समर्थनमा हिँडेकी सरस्वती अहिले भने एमालेबाट उम्मेदवार बनेकी छिन्। आफूलाई कांग्रेसको विरोधीभन्दा पनि प्रतिस्पर्धी भन्न रुचाउने उनी वडाको नेतृत्व गरेर महिलाको हक-हितका लागि आवाज उठाउने बताउँछिन्।

२२ वर्षकै उमेरदेखि राजनीति गर्न थालेकी सरस्वतीले १२ कक्षासम्म अध्ययन गरेकी छिन्। आफूलाई राजनीतिमा आउन र आइसकेपछि काम गर्न परिवारको ठूलो साथ रहेको उनी बताउँछिन्।

लप्सेफेदी वडा कार्यालयमा भेट्न जाँदा घरदैलो कार्यक्रममा व्यस्त रहेकी सरस्वतीले वडाको समस्या, आगामी योजना र आफूले भोग्नु परेको विभेदबारे खुलेर कुरा गरिन्:

पार्टी परिवर्तन किन?
म विवाहभन्दा अगाडि राजनीतिमा कतै लागिनँ। त्यसपछि भने महिला आयोग, आमा समूह र एनजिओतिर काम गर्ने मौका मिल्यो। अनि कांग्रेस पार्टीमा सामेल भएँ।

म जहाँ गए पनि नेपाली कांग्रेस हुँ भन्दै हिँड्थें। तर राजनीतिमा छिरेको एक दशकपछि मैले पार्टी नै परिवर्तन गर्नुपर्यो।

आफू लागेको पार्टी छोड्नुपर्दा दु:ख पनि लाग्छ। तर त्यो पार्टीमा मेरो सोच, विचार र योगदानको बारेमा कसैले वास्ता गरेन। नवप्रवेशीहरुलाई बढी महत्व दिइयो। पुरानोलाई हेला गरियो।

नेपाली कांग्रेसको वडा कमिटी अध्यक्ष दाइले मलाई वडा सचिव बस्न भन्नुभएको थियो। तर मैले दाइ अध्यक्ष भएपछि म किन बस्नुपर्यो भनेर बसिनँ। तर उहाँको कोभिडका कारण अचानक मृत्यु भयो।

उहाँको मृत्युपछि हामीलाई कुनै मिटिङबारे जानकारी दिइएन। त्यहाँका साथीहरुले पार्टीमा एकलौटी गरे। महिलालाई बेवास्ता गरियो। त्यसपछि पार्टीका अन्य सदस्यहरुसँग सामान्य विवाद भयो। र, मैले पार्टी नै छाडिदिएँ।

पार्टी छोडेर नयाँ पार्टीमा स्वागत गरे पनि मलाई रमाइलो लागेन। त्यत्तिका समय पार्टीमा बसेर संघर्ष गर्यौं। पार्टीका लागि त्यति धेरै योगदान गर्यौं तर कसैले देखेन। त्यसैले उनीहरुको प्रतिस्पर्धी भएर बस्न ठिक लाग्यो। 

म एमाले प्रवेश गरेको एक वर्ष भयो। नयाँ पार्टीमा समावेश भएपछि उनीहरुको नीति-नियम अनुसार सबै कार्य गर्यौं। सबैलाई पार्टी परिवर्तन गरेको जानकारी पनि दियौं। त्यस्तो गर्दा गर्दै चुनावको माहोल आइहाल्यो।

जनजाति-महिलाका दु:ख
हाम्रो समाजमा महिला तथा जनजातिलाई हेर्ने दृष्टिकोण नै गलत छ। हरेक क्षेत्रमा महिलालाई प्राथमिकता नै दिइँदैन। महिला भनेका त बोल्ने मात्र हुन्, काम गर्न सक्दैनन् भन्ने गलत सोच छ।

महिला आफ्नै काममा व्यस्त हुँदा, छोरी, बुहारी, श्रीमती र गृहिणीमात्र हुँदा कसैलाई मतलव हुँदैन। तर जब महिला घरबाट निस्कन खोज्छन्, केही गर्न खोज्छन् तब धेरैले खुट्टा तान्छन्।

अहिले मेरा प्रतिस्पर्धीहरुले यी केटीले के नै गर्न सक्छिन् र? भनेर औंलो ठड्याइसकेका छन्। मलाई समर्थन गर्नुहुने आमा-बालाई निराश पार्नका लागि मेरो क्षमतामाथि शंका उत्पन्न गरिसकेका छन्।

मलाई थाहा छ, मैले यस्ता चुनौतीको अझै बढी सामना गर्नुपर्ने छ। यस्ता प्रश्नहरु अझै ममाथि उठाइने छन्। तर यस्ता प्रश्नलाई चिर्दै अगाडि बढ्ने छु।

जितपछिको योजना 
सबैभन्दा पहिला महिलाप्रति समाजमा देखिएको नकारात्मक सोच परिवर्तन गर्नुपर्ने छ। गाउँमा सडक बन्दैमा, प्रत्येक घरमा धारा हुँदैमा, डिजिटल प्रविधि भित्रियो भन्दैमा त्यो मात्रै विकास हो जस्तो लाग्दैन मलाई। जबसम्म कुनै पनि महिला घरमै मात्र सीमित रहन्छन्, उनीहरु कसरी स्वतन्त्र हुन सक्छन्? 

हाम्रा आमाहरुले ३ घण्टाको बाटो हिँडेर पनि त पानी खाएकै थिए नि। गुजारा त भएकै थियो नि। तर महिलामाथि विश्वास गर्न सकेको खै समाजले? महिला सक्षम छन् भनेर प्रमाणित गर्नुपर्ने छ। त्यसकै लागि मैले उम्मेदवारी दिएकी हुँ।

त्यस्तै कृषि र सिंचाइ पनि मेरो योजनामा छ। हाम्रो वडामा अहिले पनि धेरैको आम्दानीको स्रोत कृषि भएको कारणले कृषकलाई प्रोत्साहन गर्नु मेरो काम हुनेछ। 

आमा/महिला समूहहरु खोलेर बचत गर्न प्रोत्साहन गर्ने, उनीहरुको स्वास्थ्य र बालबालिका सम्बन्धी सम्पूर्ण ज्ञान शिक्षित र अशिक्षित आमाहरुलाई दिने, बुहारी, छोरी-चेलीको स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्ने तथा हरेक कार्यक्रममा महिलाको सहभागितामा जोड दिने मेरो काम हुनेछ। 

हामीले 'एक घर, एक धारा' कार्यक्रम घोषणा गरेका छौं। त्यससँगै महिला शिक्षामा हाम्रो जोड रहने छ। विकास निर्माणमा समावेशिताको अत्यधिक प्रयोग गर्ने र सरकारी बजेट उचित ठाउँमा खर्च गर्ने योजना छ।

वैशाख २३, २०७९ शुक्रबार १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।