गठबन्धनको 'मिसन' परिवर्तनलाई जोगाउनु हो : नेता पौडेल
काठमाडौँ : नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले परिवर्तनलाई जोगाउन गठबन्धन भएको बताएका छन्। संघीय राजधानी काठमाडौँको रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले आजको लडाई परिवर्तनशील र प्रतिगमनकारी शक्तिहरूको भएको बताएका हुन्। उनले खुला दिलले एक–अर्कालाई सहयोग गर्ने वातावरण बनाउन आग्रह गरे।
उनले २०४७ सालमा गोकर्ण डम्पिङ साइड सकिएपछि पीएल सिंह र मैले बन्चरे डाँडामा मल कारखानामा बनाउने भनेर ३० वर्षअघि सुरु गरेको बताए। कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौँ ल्याउने सपना पुरा होला जस्तो छ। तर बन्चरे डाँडाको अत्तोपत्तो छैन उनले गुनासो गरे।
उनले जनताको करको सदुपयोग हुन नसकेको बताए। उनले स्थानीय तह निर्वाचनका उम्मेदवारहरूलाई सुशासन कायम राख्न आग्रह गरे। उनले काठमाडौँमा सास फेर्न गाह्रो हुन थालेको भन्दै पहिले पहिले फल्चा राख्थे तर अहिले त्यो पनि राख्ने नगरेको बताए। काठमाडौँ महानगरको पोहोरमैलाको स्थायी समाधान गर्नुपर्ने उनको भनाइ छ।
राजनीतिक स्थिरता कायम गर्न पाँच दलीय गठबन्धन बनेको दाबी उनले गरे। स्थिरता नहुँदा विकास हुन नसकेको उनले बताए। यो गठबन्धनको खिलाफमा केपी ओलीले पनि गठबन्धन गर्नु भएको छ। क–कसलाई लिएर गर्नु भएको छ, तीनको अनुहार पनि हेर्नुहोस्,’ नेता पौडेलले भने।
केही समय राजनीतिक स्थिरता भयो भने श्रीलंकाले जस्तो संकट भोग्नु नपर्ने उनले जनाए। उनले थपे, ‘हामी आफैले देशमा राजनीतिक स्थिरता कायम गर्न सकेका छैनौँ।’
ओलीलाई निमित्त नायक बनाएर मुलुकलाई अस्थिरता तर्फ धकेलिएको दाबी उनले गरे।
वैशाख २३, २०७९ शुक्रबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।