प्रचण्डको दाबी : म अस्थिर हैन त्यागी र लचिलो नेता हुँ
काठमाडौँ : भरतपुरमा आयोजित सभामा मेयरको उम्मेदवार हारे देश दुर्घटनामा जाने अभिव्यक्ति दिएर आलोचित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँको सभामा भने' म अलि सोझो छु, लचिलो छु अनि त्यागी पनि छु।'
उनले आफूलाई हेर्दा अस्थिर हो कि गतिशील हो भन्ने पनि लाग्ने गरेको भन्दै भने' एकातिरबाट हेर्दा अस्थिर देखिन्छ अर्कोतिरबाट हेर्दा गतिशील देखिन्छ।
जे देखिए पनि अहिलेसम्म संविधान, गणतन्त्र र गठबन्धनसम्म ल्याउन सकिएको छ त्यसमा गर्व छ।'
उनले महिलालाई बढी अधिकार दिएको एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चित्त नबुझेको, सङ्घीयतामा चित्त नबुझेको अनि गणतन्त्रमा चित्त नबुझेको भन्दै गठबन्धनमा रहेका दल समर्थक मतदाताहरूलाई एक अर्काको चुनाव चिन्हमा नहिचकिचाई मत हाल्न आग्रह गरे।
उनले नेपालमा भएका सबै राजनीतिक परिवर्तन लोकतान्त्रिक र वामपन्थी दलहरूबिचको सहकार्यमै सम्भव भएको भन्दै यो गठबन्धनलाई अगाडि बढाउन एकले अर्कालाई सहयोग गर्नै पर्ने बताए।
उनले सभामा पटक-पटक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको थेगो दोहोर्याए' अहिले सहमति, सहकार्य र एकताको विकल्प छैन।'
उनले यस अगाडिको स्थानीय तहको निर्वाचनमा कांग्रेसँग सहकार्य गर्दा रुखमा मत हाल्नेले हँसिया हथौडामा मत हाल्न गाह्रो मान्ने अनि हँसिया हथौडामा मत हाल्नेले रुखमा मत हाल्न गाह्रो मानेपछि बाम गठबन्धन गरेको बताएका थिए।
बाम गठबन्धन परिवर्तनका लागि गरिएको तर प्रतिगमनतिर लागेपछि वामपन्थी गठबन्धन गरेर कसैलाई निषेध गर्नुभन्दा बरु वामपन्थी र लोकतान्त्रिक गठबन्धन ठिक भनेर नयाँ गठबन्धन बनाएको दाबी गरेका थिए।
वैशाख २३, २०७९ शुक्रबार १७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।