मार्च र अप्रिलमा नपरेको पानी मे महिनामा

मार्च र अप्रिलमा नपरेको पानी मे महिनामा

काठमाडौँ : गएको मार्च र अप्रिल महिनामा नेपालको मात्र नभई समग्र दक्षिण एसियाका विभिन्न भागको तापक्रममा वृद्धि भएको थियो। भारत, पाकिस्तानलगायत दक्षिण एसियाका विभिन्न भागमा अझै पनि हिटवेभ (लु) चलिरहेको छ। लुबाट बच्न करोडौ भारतिय नागरिकहरूले संघर्ष गरिरहेको समाचारहरू बाहिरिएका छन्।  

तर नेपालमा भने केही दिनयता दैनिक जसो बदली भई वर्षा भइरहेको छ। कतिपय भेगमा मौसम सामान्य देखिन्छ भने कतिपय भेगको मौसम असामान्य बनिरहेको छ। मार्च र अप्रिल (चैत र वैशाखको मध्य) मा नपरेको पानी मे महिनाको सुरुवातदेखि मनसुन सक्रिय देखिएको छ। मनसुन अगावै मौसम सक्रिय बन्दा मानिसहरू आत्तिनु स्वाभाविकै हो। 

उसो त मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुनको महिना मानिन्छ। मौसम पूर्वानुमान महाशाखाले हरेक दिन मौसमसम्बन्धी सूचना जारी गर्छ। विभागकाअनुसार हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा देखिएको हुनाले देशभर बदली भई वर्षा भइरहेको छ। 

यति बेला देशभर वर्षा हुनु असामान्य हो त ?
मार्च र अप्रिलमा देखिनुपर्ने प्रि मनसुन गतिविधि तेस्रो महिना अर्थात् मे महिनामा देखिएकोले असामान्य लागे पनि हिजोआज भइरहेको वर्षा र बदली सामान्य भएको विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन्। ‘स्थानीय वायुको प्रभावले स्थानीय रूपमै वायु र बादलहरू बन्ने र जहाँ बादल बन्यो त्यही पानी झर्ने देखिन्छ’ उनले भनिन्, ‘प्रि मनसुनको विशेषता भनेकै मेघ गर्जन र चट्याङसहित हल्का तथा मध्यमखालको वर्षा हुने हुन्छ। त्यसैले यसलाई प्रि मनसुनमा हुने सिजनल गतिविधि नै मान्नुपर्छ। खासमा यत्तिको वर्षा मार्च र अप्रिलमा पनि हुनुपर्ने हो। दुई महिना जति सुख्खा भएकोले मे महिनामा मौसम निकै सक्रिय भएको देखिएको हो। यो गतिविधिलाई अचम्म भने मान्नुपर्दैन।’ 

मानन्धरका अनुसार मार्च र अप्रिल दुई महिनामा प्रि मनसुनको गतिविधि देखिएको थिएन। मार्च, अप्रिल र मे तीन वटै महिनामा हुनुपर्ने यस्तो खाले मौसमको गतिविधि मार्च र अप्रिलमा देखिएन जुन मे महिनामा देखा परिरहेको छ। अहिले देशमा स्थानीय वायु, भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा एउटा न्यून चापीय प्रणाली बनेको छ। त्यसको प्रभावले वर्षा हुनुका साथै तीव्र रूपमा बदली भइरहेको हो।

मानन्धरको भनाइलाई आधार मान्ने हो भने मार्च र अप्रिल महिनामा नेपालमा वर्षा सक्रिय हुन सकेको थिएन। तर मे महिनामा भने मौसम सक्रिय देखिएको छ। सोही कारण मे महिनाभर वर्षा राम्रोसँग हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।  

यति बेला मौसममा भइरहेको गतिविधि देशैभर सक्रिय छ। विशेष गरी पूर्वको प्रदेशहरूमा मौसम बदली तुलनात्मक रूपमा बढी भइरहेको छ भने पश्चिमतिरको प्रदेशहरूमा कम भइरहेको विभागले जनाएको छ। अन्तर्राष्ट्रिय एवं क्षेत्रीय तथ्यांकको आधारमा स्थानीय मौसमको अवस्थाबारे निष्कर्ष निकाल्ने गरिन्छ। भारतको न्यून चापीय वायुको प्रभाव नेपालमा पनि पर्नुको कारणबारे वरिष्ठ मौसमविद् मानन्धर भन्छिन्, ‘भारत ठुलो मुलुक भएकोले त्यहाँ एकातिर लु चल्छ भने अर्काे तिर व्यापक वर्षा हुने गर्छ। यति बेला नेपालमा जुन वर्षा भइरहेको छ त्यो भारतको न्यून चापीय प्रभावको असरले पनि हो। अस्तिसम्म बिहान जसो मौसम खुलेजस्तो देखिए पनि दिउँसो फेरी बदली हुने र पानी पर्ने भइरहेको थियो भने  यति बेला कहिले बिहान, कहिले दिउँसो र कहिले साँझ÷रातितिर वर्षा भइरहेको छ। यो सबै स्थानीय वायु प्रणालीको प्रभावको कारणले नै हो।’ 

मनसुनको मौसमी चरित्रअनुसार मार्च, अप्रिलमा पनि एकै चोटी बादल बन्ने, हावाहुरी चल्ने, गड्याङगुडुङ हुने, एकै चोटी वर्षा हुने÷ रोकिने र फेरि मौसम सफा हुने गर्छ भने मनसुनमा मौसमको चरित्र फरक हुने उनको मानन्धरको भनाइ छ। 

मे महिनामा परिरहेको यस वर्षको तुलनामा अघिल्ला वर्षहरूमा कम पानी परेको थियो। जेठ महिनामा परेको पानीले असारमा खडेरी निम्त्याउन सक्ने अनुमान पनि कतिपयले गर्ने गरेका छन्। यस सन्दर्भमा मानन्धरले भनिन्, ‘जेठको आधासम्म त मे महिना नै पर्छ। मे महिनामा राम्रो वर्षा हुने देखिएको छ। तर त्यसपछिको पूर्वानुमानका लागि विभागमा आज हाम्रो मौसम फोरम बस्दै छ। फोरम कस्तो अनुमान गर्छ त्यसमा भर पर्छ। अहिलेसम्मको आँकडा हेर्दा जेठपछि पनि राम्रै वर्षा हुने सक्ने सम्भावनाको देखिएको छ।’ 

यद्यपि, विगत दुई महिनामा सक्रिय नभएको प्रि मनसुनको गतिविधि मे महिनामा देखिने हुँदा चट्याङ, वर्षा र हावाहुरीबाट जोगिन सबैले सतर्क हुनुपर्ने मानन्धरको सुझाव छ । ‘विगतका वर्षहरूमा मार्चमा चट्याङबाट मर्नेहरूको संख्या धेरै हुन्थ्यो तर यसपाली भने त्यो भएन। सोही कारण मे महिनाभर चट्याङ, वर्षा र हावाहुरीको प्रबल सम्भावना देखिएको छ’ उनले भनिन्, ‘यो गतिविधि तेस्रो महिनामा देखा परेकोले यसबाट जनधनको क्षति हुन नदिन मे महिनाभर सतर्क भएर बस्नुपर्ने हुन्छ।’

वैशाख २३, २०७९ शुक्रबार १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।