कर्णाली प्रदेश: पर्यटनबाट ४८ लाख राजश्व सङ्कलन

कर्णाली प्रदेश: पर्यटनबाट ४८ लाख राजश्व सङ्कलन
तस्बिर: इन्टरनेट

सुर्खेतः कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट ४८ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ। प्रदेशका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजश्व सङ्कलन भएको हो।

प्रदेशमा सबैभन्दा बढी आन्तरिक पर्यटक सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा आए। विसं २०७८ वैशाखदेखि पुससम्म बुलबुले ताल दृश्यावलोकन गर्न एक लाख ५१ हजार २८२ आन्तरिक र ५५ बाह्य पर्यटक आएका थिए। उनीहरूबाटै रु २१ लाख ७१ हजार राजश्व सङ्कलन भएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख देवकुमारी शाहीले बताइन्।

सोही अवधिमा काक्रेबिहार घुम्न एक लाख ७४ हजार ३६९ आन्तरिक र १२ बाह्य पर्यटक आएका थिए। उनीहरूबाट ६ लाख १८ हजार राजश्व सङ्कलन भएको थियो। वीरेन्द्रनगरस्थित प्रादेशिक शहीद उद्यान पर्यटकीयस्थल घुम्न आउने १६ हजार २०० आन्तरिक पर्यटकबाट चार लाख ५० हजार राजश्व सङ्कलन भएको छ।

गत चैतसम्म मुगुको रारा तालमा १३ हजार ११३ आन्तरिक र ६६ बाह्य पर्यटकले दृश्यावलोकन गर्दा नौ लाख ३३ हजार राजश्व सङ्कलन भएको छ। गत माघसम्म डोल्पाको शे–फोक्सुण्डो घुम्न आउने तीन हजार ४३८ आन्तरिक र ६१ बाह्य पर्यटकबाट तीन लाख ३१ हजार ८०० राजश्व सङ्कलन भएको शाहीले बताइन्।

विभिन्न पर्यटकीय क्षेत्र घुम्न आएका पर्यटकबाट समग्रमा प्रदेशले ४८ लाख राजश्व संकलन गरेको छ।

वैशाख २३, २०७९ शुक्रबार ११:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।