झापाका तीन पालिकामा कांग्रेस-एमाले-राप्रपाको तीनथरि गठबन्धन

झापाः १५ वटा पालिका भएको झापा जिल्लाका तीन पालिकामा तीनथरि गठबन्धन बनेको छ। दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिकामा फरक-फरक चुनावी गठबन्धन भएको हो।
अन्यत्र प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले कचनकबलमा चुनावी गठबन्धन गरेका छन्। यसअघिको चुनावमा पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ। प्रदेश सभा सदस्य वसन्त बानियाँका अनुसार स्थानीय आवश्यकताका आधारमा गठबन्धन भएको हो।
कचनकबलमा कांग्रेसबाट अध्यक्षमा कालेन्द्रप्रसादसिंह राजवंशी र उपाध्यक्षमा एमालेबाट नवराज भट्टराई उम्मेदवार बनेका छन्। राप्रपाबाट अध्यक्षमा अन्जरा आलम र उपाध्यक्षमा निमसरी राजवंशी उम्मेदवार बनेका छन्।
कनकाई नगरपालिकामा भने कांग्रेस र एमाले एक्लाएक्लै चुनावी मैदानमा छन्। यसअघि प्रमुख र उपप्रमुखमा एमालेका राजेन्द्र पोखरेल र मञ्जु प्रसाईँ विजयी भएको यस पालिकामा यस पटक पनि एमालेले दुवैलाई सोही पदमा दोहोर्याएको छ।
कांग्रेसले प्रमुखमा रुद्रप्रसाद चिमरिया र उपप्रमुखमा आशा शर्मा शिवाकोटीलाई उम्मेदवार बनाएको छ। कांग्रेसका बागी उम्मेदवार शेरबहादुर थापाले भने कांग्रेस र एमालेबाहेकका चार दलको गठबन्धन बनाएका छन्। गठबन्धनमा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सामेल छ।
गठबन्धनबाट प्रमुखमा थापा र उपप्रमुखमा एकीकृत समाजवादीकी अम्बिका उप्रेती उम्मेदवार छन्।
दमक नगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्त्वमा बृहत् गठबन्धन बनेको छ। एमाले एक्लै चुनावी मैदानमा छ।
दमकको प्रमुखमा राप्रपाका राम थापा र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई उम्मेदवार छन्। एमालेले गीता अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखमा उम्मेदवार बनाएको छ।
राप्रपासहितको गठबन्धनमा कांग्रेस र माओवादी केन्द्र संलग्न छ। जनता समाजवादी पार्टीले अलग्गै उम्मेदवार खडा गरेको छ।
वैशाख २३, २०७९ शुक्रबार ०८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।