कर्णालीबाहेक सबै प्रदेशमा चट्याङसहित वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशको कर्णाली प्रदेशबाहेक सबै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण वर्षा हुने भएको हो।
यतिबेला प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भएको छ।
आज दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
वैशाख २३, २०७९ शुक्रबार ०७:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।