रोल्पामा माओवादी, कांग्रेस, समाजवादी र एमालेका कार्यकर्ताबीच झडप: वडाध्यक्ष उम्मेदवार गम्भीर घाइते

रोल्पाः जिल्लाको माडी गाउँपालिका–३ तालाबाङमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच गए राति झडप भएको छ। झडपमा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन्।
तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको थियो। डाँगीलाई रड प्रहार गरी गम्भीर घाइते बनाइएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले बताए। उनलाई उपचारका लागि दाङ लगिएको छ।
बाटोमा डाँगी चढेको गाडी नियन्त्रमा लिएर उनीमाथि आक्रमण गरिएको घर्तीको आरोप छ। यता, आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताए।
झडप लगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए। “अहिले अवस्था सामान्य छ”, उनले भने।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ।
वैशाख २२, २०७९ बिहीबार ०९:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।