भरतपुरमा आज सत्ता गठबन्धनले चुनावी सभा गर्ने, सभास्थल डुबानमा

भरतपुरमा आज सत्ता गठबन्धनले चुनावी सभा गर्ने, सभास्थल डुबानमा

काठमाडौंः सत्ता गठबन्धनका दलहरूले आज संयुक्त चुनावी सभा गर्ने भएका छन्। चितवनको भरतपुरमा आज मध्यान्न १२ बजेबाट संयुक्त चुनावी सभा हुँदैछ।

भरतपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट मेयरमा रेनु दाहाल उठेकी छिन्। यता कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।

पार्टीभित्रको असन्तुष्ट पक्ष र गठबन्धनको साझा उम्मेदवारप्रति माहोल बनाउन आज भरतपुरमा सभा हुन लागेको हो। भरतपुरको बसपार्कमा हुने चुनावी सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्नेछन्।

 

जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरू पनि सभामा उपस्थित हुनेछन्।

तर, आज सभा हुने भनिएको स्थल भरतपुरको केन्द्रीय बसपार्क भने डुबानमा परेको छ। गए रातिको वर्षाका कारण खाली स्थान र मञ्च र टेन्ट भएको स्थान समेत डुबानमा परेको हो।

चितवन कांग्रेसका अनुसार सभा सोही स्थानमा गर्ने कि अन्यत्र भन्नेबारे छलफल गरिनेछ। 

वैशाख २२, २०७९ बिहीबार ०८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।