आचारसंहिता उल्लङ्घनको उजुरीपछि प्रधानमन्त्री देउवा निजी गाडीमा

काठमाडौँ : निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलङ्घन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी स्रोत र साधनको दुरुपयोग गरेको उजुरी परेपछि प्रधानमन्त्रीको रूपमा चढ्ने सवारीसाधन छाडेका छन्। उनी चितवन झरेसँगै सरकारी गाडी छाडेर निजी गाडीमा चढेका छन्। चितवनमा गठबन्धनको सभालाई सम्बोधन गर्न गएका कांग्रेसका सभापति समेत रहेका देउवा भरतपुर विमानस्थलमा ओर्लिएपछि बसेको होटेलसम्म निजी गाडीमा गए।
प्रधानमन्त्री देउवा चितवन आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो। उजुरी परेपछि कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठले आफ्नो गाडि प्रधामन्त्री समेत रहेका देउवालाई दिए। उनी श्रेष्ठको को बा ३ च २०४० नम्बरको ल्याण्डक्रुजर गाडीमा होटल पुगे।
श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहेका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए। उनले भने, 'यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ।' श्रेष्ठका अनुसार देउवा चितवनमा रहँदा पार्टीको व्यवस्थापनमा बस्नेछन्।
उनले भने, 'सबै खर्च पार्टीले गर्नेछ।' सभापति देउवा र उनको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै हुन्। पार्टी सभापति देउवा बुधबार विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट चितवन आएका थिए। उनका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सो जहाज नेपाली कांग्रेसले भाडामा लिएको हो।
उनले भने, 'निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो।'
चितवनमा कांग्रेसबाटै स्वतन्त्र उम्मेदवार उठेपछि चुनावी माहोल बनाउन संयुक्त सभा आयोजना गरिएको थियो। बिहीबार हुने सभामा सम्बोधन गर्न देउवा चितवन पुगेका हुन्। उनीसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छन्।
सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ रेनु दाहाल प्रमुख पदमा उम्मेदवार छिन्। त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार छन्।
वैशाख २१, २०७९ बुधबार २१:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।