गृहमन्त्रीको निर्देशनपछि रोशी दुर्घटना अनुसन्धान गर्न समिति गठन

काठमाडौँ : काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डालाबेँसीमा भएको दुर्घटना अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ।
गृहमन्त्री बालकृष्ण खाँणले भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा पाँचजनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरी नायब उपरीक्षक हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति बनाइएको हो।
समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन्। गृहमन्त्री खाँणले काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरी छानबिन समिति बनाउन निर्देशन दिएका थिए।
बुधबार मध्याह्न काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४२१० नंको सुमो ठोक्किँदा दुई महिला, दुई पुरुष र एक बालक गरी पाँचजनाको मृत्यु भएको थियो।
वैशाख २१, २०७९ बुधबार २०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।