राष्ट्रिय आवश्यकताका लागि गठबन्धन गरिएको हो : प्रधानमन्त्री देउवा

राष्ट्रिय आवश्यकताका लागि गठबन्धन गरिएको हो : प्रधानमन्त्री देउवा

विराटनगर : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरूबीच गठबन्धन भएको बताएका छन्। नेपाली कांग्रेस मोरङद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गरे।

सत्तारुढ दलसँग बनेको गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा उत्साह र जाँगरका साथ जिताउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल दलका कारण आफू प्रधानमन्त्री बनेको बताए। अहिले कसैको डर र त्रास नभएको अनुभूति जनताले गरेको बताउँदै उनले प्रजातन्त्रको फल गाउँ तहसम्म पुर्याउन गठबन्धन बनेको धारणा राखे।

उनले नेपाली कांग्रेसले धोखा खाए पनि कसैलाई पनि धोखा नदिने प्रतिबद्धता व्यक्त गर्दै विराट राजाको दरबार भएको ठाउँमा पुरातात्विक विभागसँग परामर्श गरेर बजेट व्यवस्था गर्ने बताए।

उनले आगामी सरकार नेपाली कांग्रेसको बनेमा ६५ वर्षदेखिका मानिसलाई ज्येष्ठ नागरिक भत्ता दिने भन्दै सरकारले अहिले असाध्य रोग लागेका मानिसलाई मासिक पाँच हजार भत्ता दिएको जानकारी दिए। स्थानीय तहलाई सम्पूर्ण अधिकार दिने भन्दै प्रधानमन्त्री देउवाले पहाड र मधेश मिलेर देश निर्माण गर्ने सङ्कल्प लिएको बताए। 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  कांग्रेस सरकारले शिक्षा, स्वास्थ्यमा विशेष जोड दिएको चर्चा गर्दै महानगरपालिकामा गबन्धनका उम्मेदवारले जितेमा सहरको विकास र जनताको जीवनस्तर उकास्ने काम गर्ने योजना रहेका बताए।

कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिले स्थानीय तहको निर्वाचनको सरकारलाई खासै असर नगरे पनि कालान्तरमा हुने प्रदेश र सङ्घको निर्वाचनमा धेरै ठूलो असर गर्ने धारणा राखे। उनले सङ्घ र प्रदेशको निर्वाचनमा सफलता हासिल गर्नका लागि पनि अहिले स्थानीय तहमा कार्यकर्ताहरूले मेहेनतका साथ आफ्ना उम्मेदवार जिताउन आग्रह गरे।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख पदमा कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपप्रमुखका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले निर्वाचनमा सफलता पाए नगरको विकासमा कुनै कसर बाँकी नराख्ने बताए। उनीहरुले धन आर्जनका लागि नभई जनताका सेवा तथा नगरको विकास गर्न उम्मेदवारी दिएको दाबी गरेका थिए। 

कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा डिला सङ्ग्रौला, भीम पराजुलीलगायतका नेताहरूले कांग्रेसको गठबन्धनमा रहेका पार्टी उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए।

वैशाख २१, २०७९ बुधबार १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।