आइजिपी विरुद्धको पहिलो सुनुवाइमै दोहोरो बहस हुँदा लम्बियो, मुद्दा हेर्दाहेर्दैमा

आइजिपी विरुद्धको पहिलो सुनुवाइमै दोहोरो बहस हुँदा लम्बियो, मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ : अन्तरिम आदेश दिने/नदिने भन्ने पहिलो बहसमै सरकार र विपक्षी समेत बहसमा सहभागी हुँदा नेपाल प्रहरीको प्रमुखमा हालै भएको नियुक्ती विरुद्द परेको रिट हेर्दाहेर्दैमा रह्यो।

सरकारले २९ औँ आइजिपीमा धिरजप्रताप सिंहलाई १८ गते गरेको नियुक्ति विरुद्धको रिटमा पहिलो बहसमै सरकारको तर्फबाट महान्यायाधिवक्ता र सिंहको तर्फबाट निजी कानुनी सहयोगी बहसमा सहभागी भए। बहस नसकिएपछि बिहीबारलाई मुद्दा हेर्दाहेर्दैमा रह्यो।

आइजिपीका प्रत्याशी एआइजी विश्वराज पोखरेल ६ तर्कसहित रिट बोकेर सोमबार अदालत गएका थिए। मङ्गलवार बिदा भएकाले बुधवारका लागि पहिलो सुनुवाइ तोकिएको थियो।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासमा अन्तरिम आदेश जारी गर्न पर्ने/नपर्ने विषयमा बहस भएको थियो।

बुधवार महान्यायाधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू  टिकाराम भट्टराई  र भीमार्जुन आचार्यले सरकारको तर्फबाट बहस गर्दै स्थानीय तहको निर्वाचन अगाडि अन्तरिम आदेश दिए प्रहरी सङ्गठन नेतृत्वहीन हुने, पोखरेल बिदामा बसेकाले उनलाई आइजिपी बनाउन नहुने, एसपी हुने बेलासम्म सिंह सिनियर रहेको तर्क गरेका थिए।
बुधवार पोखरेलको पक्षबाट बहस सुरु मात्र भएकाले बिहीबार जारी रहने छ। दुवै पक्षको बहस सकिएपछि इजलासले थप प्रक्रियाबारे आदेश दिने छ।

वैशाख २१, २०७९ बुधबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।