युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले भेट डेनमार्ककी रानीलाई

युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले भेट डेनमार्ककी रानीलाई
Photo: ANI

नयाँदिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्धितियसँग भेटवार्ता गरेका छन्। युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गरेका हुन्। कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत गरेको प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ।

भेटवार्तापछि प्रधानमन्त्री मोदी रानी मार्गरेटले आयोजना गरेको रात्रीभोजमा समेत सहभागी भएका थिए। सो अवसरमा प्रधानमन्त्री मोदीले राजपरिवारका अन्य सदस्यहरुसँग पनि भेटवार्ता गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री मोदीले भेटवार्ताको महत्वपूर्ण अवसर दिएको र हार्दिकतापूर्वक स्वागत गरेको प्रति डेनमर्ककी रानी मार्गरेट द्धितिय र डेनमार्क सरकारप्रति धन्यवाद ज्ञापन गरेकी थिइन्।

एक दिने डेनमर्क भ्रमणका क्रममा उनले अति व्यस्त कार्यतालिकाकाबीच अन्य महत्वपूर्ण भेटघाट तथा छलफलहरु गरेका छन्। उनले डेनमार्कका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ संभावनाहरुका बारेमा छलफल गरेको अधिकारीले जनाएका छन्। 

त्यसैगरी क्षेत्रिय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उनले डेनमार्कमा छलफल गरेका छन्। सोमबारदेखि तीन दिने युरोप भ्रमण सुरु गरेका मोदी भ्रमणको दोस्रो दिन डेनमार्क पुगेका हुन्। 

उनले भ्रमणको पहिलो दिन नै सोमबार जर्मनीका चान्सलर अलाफ स्कोल्जसँग बर्लिनमा भेटवार्ता गरेका थिए। उनीहरुबीच रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको बताइएको छ। 

भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको जानकारी अनुसार प्रधानमन्त्री मोदीले यस पटक युरोप भ्रमणका क्रममा उनले युक्रेनमाथी रुसको हमलाका बारेमा पनि धेरै जसोसँग छलफल गरेका छन्। सोमबार जर्मनीबाट युरोप प्रवेश गरेका प्रधानमन्त्री मोदीले मङ्गलबार डेनमार्कको भ्रमण गरेका छन् भने बुधबार फ्रान्सको भ्रमण गर्नेछन्। 

वैशाख २१, २०७९ बुधबार १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।