६२ लाख बराबरको एक किलो सुनको गहनासहित पक्राउ

६२ लाख बराबरको एक किलो सुनको गहनासहित पक्राउ
साङ्केतिक तस्बिर

बाँकेः करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिंह रहेका छन्।

ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबाट खटेको संयुक्त प्रहरी टोलीले शङ्कास्पदरूपमा हिँडिरहको अवस्थामा सिंहलाई नियन्त्रणमा लिएको थियो। प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले उनको पिछा गरेर पक्राउ गरेको थियो।

सिंहले बोकेको कालो रङको झोलाभित्र खानतलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद भएको छ। प्रहरीका अनुसार हार, मङुगलसूत्र, बाला, दाना, झुम्की, रामलीला, झाला, ब्रासलेट, कानपासा, औंठी, टप, फुली, टुक्राहरू पत्थर र मालासहित विभिन्न प्रकारका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलीग्रामका सुनका गहना बरामद गरिएको छ।

बरामद गरिएको गहनाको अन्दाजी मूल्य रु ६२ लाख बराबरको रहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिंहले यही वैशाख ४ गते भारतको बैङ्गलौरस्थित सुन पसलबाट चोरी गरेको बुझिएको छ। यसका लागि भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

वैशाख २०, २०७९ मंगलबार १२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।