गोरखा जीप दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्यो

गोरखाः जीप दुर्घटनामा परी मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ। सिरानचोक गाउँपालिका–५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रोकिराखेको बा१४च ७८१ नंको स्कोपियो जीप भीरबाट खसेर दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाका अनुसार जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको थियो। दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौं महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेका छन्।
चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो। जीप आरुबोटेस्थित फिरफिरे भीरबाट झण्डै २०० मिटर तल खसेको थियो। जीपमा पाँच जना सवार रहेकामा अन्य दुई जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ।
मृतक तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ। शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।
वैशाख २०, २०७९ मंगलबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।