मिथिला क्षेत्रका हिन्दू आज अक्षय तृतीया मनाउँदै

काठमाडौंः आज मिथिला क्षेत्रका हिन्दू धर्मावलम्बीहरूले अक्षय तृतीया मनाउँदैछन्। वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु एवं चिसो पानीको सर्वत खुवाउने परम्परा रहेको छ।
यस्तो गरेमा अक्षय (कहिल्यै नास नहुने) पुण्यप्राप्त हुने जनविश्वास रहेको छ। अक्षय तृतीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ। भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कुलपुरोहित तथा गरिबहरूलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गरे कहिल्यै भण्डार खाली नहुने भविष्य पुराणमा उल्लेख रहेको छ।
भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, अन्नप्रासन र विवाहलगायतका शुभकार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मान्यता छ।
वैशाख २०, २०७९ मंगलबार ०८:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।