आज इद–उल–फित्र

काठमाडौंः इस्लाम धर्मावलम्बीहरूले आज इद–उल–फित्र पर्व मनाउँदैछन्। इस्लाम परम्परामा एक महिना लामो रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ।
बोलीचालीमा इद भनिने यो इस्लाम परम्पराको मुख्य पर्व मानिन्छ। रमजान उर्दू (हिजरी) संवत्अनुसार नवौँ महिना हो। यसै महिनामा पवित्र इस्लाम ग्रन्थ कुरान पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ।
यो महिनामा गरिने रोजा (व्रत)ले अल्लाह (ईश्वर)को कृपादृष्टि प्राप्त हुने धार्मिक मत छ। रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ कठोर व्रत गरेपछि हिजरी संवत् परम्पराको १०औँ महिना सौव्वाल प्रारम्भ भएकै दिन इद मनाइन्छ।
चन्द्रमाको गतिका आधारमा तय गरिने इदपर्व रमजान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाइने परम्परा छ। सामान्यतया ३० दिन रोजा पूरा भएपछि मनाइने यो पर्वबारे तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट इद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकाहीँ फरक–फरक क्षेत्रमा दिन पनि फरक पर्ने गरेको छ।
इदमा अल्लाहका नाममा विशेष नमाज अदा गर्ने परम्परा छ। इदका दिन मोल्वीले कुरान वाचन गरेर सद्विचार र सत्कर्ममा रहन प्रेरित गर्छन्। धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवई (गहुँको पिठोबाट बनाइएको खाद्य वस्तु)को खिर र मिष्ठान्न परिकार खाने खुवाउने चलन छ।
पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष जम्मा भएर सामूहिक नमाज अदा गर्ने परम्परा छ। विगतका दुई वर्ष कोभिड–१९ का कारण सामूहिक तवरले इद मनाउन नपाएका इस्लाम धर्मावलम्बीले यसपालि ढुक्कसँग मनाउन पाउने भएका छन्।
इदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ (आफ्नो कमाइको २.५ प्रतिशत कोषमा बुझाउने रकम) दिने परम्परा छ।
वैशाख २०, २०७९ मंगलबार ०७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।