भारतमा कोरोना बढ्दै, एकै दिन तीन हजार बढी संक्रमित थपिए
नयाँदिल्ली : पछिल्लो केही दिन यता भारतमा कोरोना संक्रमण दर बढेको तथ्यांकले देखाएको छ। २४ घण्टाको समयावधी अर्थात आइतबार मधयरातिसम्म तीन हजार १२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल संक्रमितको संख्या चार करोड ३० लाख ८२ हजार ३४५ जना पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जानकारी दिएको छ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ संक्रमितको संख्या तीन हजार नाघेको यो लगातार पाँचौ दिन हो। थप एक दिनमा भएका कोरोनाका नयाँ संक्रमित मध्ये ४७ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ। हाल राष्ट्रिय राजधानी दिल्लीमा ५ हजार ९९७ सक्रिय संक्रमित रहेका छन्।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २६ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख २३ हजार ८४३ पुगेको छ। भारतभरी अझै पनि सक्रिय संक्रमित १९ हजार ५०० जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो। तर केही हप्तायताबाट सक्रिय संक्रमित बढेको पाइएको छ।
२४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म दुई हजार ७२३ जना कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ३८ हजार ९७६ जना कोरोनाबाट मुक्त भएका छन्।
वैशाख १९, २०७९ सोमबार १७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।