सप्तरी प्रहरीले पक्राउ गर्यो ९१ लागूऔषध कारोबारी र दुर्व्यसनी

सप्तरीः जिल्ला प्रहरी कार्यालय सप्तरीले चालु आर्थिक वर्षमा ९१ लागूऔषध कारोबारी र दुर्व्यसनीलाई पक्राउ गरेको छ। यो अवधिमा प्रहरीले लागूऔषध सम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको हो।
उजुरी दर्ता भएकामध्ये पाँच जना आरोपित भने पक्राउ पर्न सकेका छैनन्। शुक्रबार मात्र घरमै भण्डारण गरी लागूऔषध बिक्री गर्दै आएका बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शङ्कर यादवलाई प्रहरीले लागुऔषधसहित सार्वजनिक गरेको थियो। ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार यादवको घरबाट एक हजार २५० ट्याब्लेट नाइट्रोभेट–१० तथा ७५०÷७५० एम्पुल डाइजेपाम, फेनारगन र नुफिन बरामद गरिएको छ।
यस्तै भारतबाट साइकलमा लागूऔषध ओसारिरहेका दुई युवालाई प्रहरीले गत पुस २३ गते पक्राउ गरेको थियो। राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्री सडकखण्डबाट विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतो पक्राउ परेका थिए।
उनीहरूको साथबाट ४०८ क्याप्सुल एपिएम प्रोक्सिभन, चार बोतल डाइलेक्स डिसी र चार ट्याब्लेट नाइट्राभेट–१० बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए।
यस्तै सप्तरीबाट काठमाडौं लैजान ठीक पारेको दुई हजार १०० ट्याब्लेट नाइट्रोभेट–१०, एक सय मिलिग्रामको ३९९ बोतल डाइलेक्स डिसी सिरफ र २८८ क्याप्सुल प्रोक्सीभोन प्रहरीले राजविराज–२ स्थित गुलाब ग्यारेजमा राखिएको ना८ख ५८३७ नम्बरको विशाल मेट्रो बसबाट गत पुस १० गते बरामद गरेको थियो। लागूऔषधका पटके आरोपित सोही बसका सहचालक कञ्चनरूप नगरपालिका–८ का सञ्जय भुजेल र बोदेबर्साइन – ५ जाँजरका २१ वर्षीय अब्दुल मियाँलाई पक्राउ गरेको थियो।
ठूलो परिमाणका कारोबारीसँगै प्रहरीले दुर्व्यसनी र ओसारपसारमा संलग्नलाई पक्राउ गर्न थालेपछि सप्तरी प्रहरीको हिरासत कक्ष अहिले लागूऔषधका आरोपितहरूले भरिएका छन्।
जिल्ला प्रहरी कार्यालय र मातहतको ‘क’ श्रेणीका तीन ईलाका प्रहरी कार्यालयको हिरासतमा अधिकांश लागूऔषध आरोपित रहेको प्रहरीले जनाएको छ।
वैशाख १९, २०७९ सोमबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।