ताप्लेजुङमा १० जना उम्मेदवार निर्विरोध निर्वाचित

ताप्लेजुङमा १० जना उम्मेदवार निर्विरोध निर्वाचित

ताप्लेजुङः स्थानीय तहको निर्वाचनमा ताप्लेजुङबाट १० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। उनीहरूको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै उनीहरू निर्विरोध भएका हुन्।

हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार फुङ्लिङ नगरपालिका–५ मा एमालेबाट उम्मेदवारी दिएकी महिला सदस्य गङ्गा दर्नाल निर्विरोध भएकी छिन्।

कांग्रेसबाट सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिन र मिक्वाखोला गाउँपालिका–३ लिवाङमा दलित महिला सदस्यमा उम्मेदवारी दिएका क्रमशः सीतादेवी सार्की र लक्ष्मीमाया विक निर्विरोध भएका छन्।

यस्तै फताङ्लुङ गाउँपालिका–६ लेलेपमा कांग्रेसबाट उम्मेदवारी दिएकी मञ्जु कामी पनि निर्विरोध भएकी छिन्। मिक्वाखोला–५ पापुङमा माओवादीबाट उम्मेदवारी दिएकी सरिता गहते दलित महिला सदस्यमा निर्विरोध भएकी जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले बताए।

वैशाख १९, २०७९ सोमबार ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।