राजपत्रमा प्रकाशित भयो एमसीसी सम्झौता

राजपत्रमा प्रकाशित भयो एमसीसी सम्झौता

काठमाडौंः अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) नेपाल राजपत्रमा प्रकाशित भएको छ। गत फागुन १५ गते प्रतिनिधि सभाले अनुमोदन गरेको एमसीसी सम्झौतामा ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माण हुने उल्लेख छ।

१२ बुँदे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको एमसीसी नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच २०७४ भदौ २९ गते अनुदान सहायता सम्झौता भएको थियो। नेपालको संविधानको धारा २७९ बमोजिम अनुमोदन गरेको र सोको नेपाली र अङ्ग्रेजी भाषाको प्रामाणिक प्रति नेपाल सन्धि ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि राजपत्रमा प्रकाशन गरिएको छ।

सम्झौता अनुसार एमसीसीले नेपाललाई ४५ करोड ९५ लाख अमेरिकी डलर बराबरको रकम उपलब्ध गराउनेछ। वित्तीय व्यवस्थाका अतिरिक्त थप चार करोड पाँच लाख डलर बराबरको रकम समेत उपलब्ध हुनेछ।

एमसीए नेपालका अनुसार हाल परियोजनाका लागि पूर्वतयारी सकिएको छ।

वैशाख १८, २०७९ आइतबार १३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।