बुटवलका मेयर उम्मेदवार पाण्डेयको प्रतिबद्धता: सुकुम्बासी समस्याको समाधान प्राथमिकतामा

बुटवलका मेयर उम्मेदवार पाण्डेयको प्रतिबद्धता: सुकुम्बासी समस्याको समाधान प्राथमिकतामा

बुटवलः सत्ता गठबन्धनको तर्फबाट बुटवल उपमहानगरका मेयर उम्मेदवार खेलराज पाण्डेयले आफ्नो पहिलो प्राथमिकता सुकुम्बासी समस्याको समाधान गर्ने रहेको बताएका छन्। बुटवलका सुकुम्बासी र अव्यवस्थितको समस्यालाई केही समयमै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नदी किनारको जोखिमयुक्त बस्तीलाई पनि व्यवस्थित र सुरक्षित बनाउने बताए।

शनिबार बुटवलको वडा नं. १०, १२ र ३ मा भएको घरदैलो तथा मतदातासँगको भेटघाटमा उनले आफूले जितेमा सबै वडामा समान ढंगले विकासको खाका कोर्ने बताए। उनले बुटवललाई प्रदेशको राजधानी बनाउने आफूहरूको सपना भए पनि एमाले सरकारले दाङ पुर्याएको बताउँदै अब बुटवललाई आर्थिक राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले बुटवलमा एमालेले निषेधको राजनीति गरेको आरोप लगाउँदै आफूले जितेमा मेलमिलापको नीति प्रवर्द्धन गरिने बताए। उनले आफूले भनेका कुरा पूरा नभए आगामी दिनमा भोट माग्न नआउने पनि दावी गरे।

वैशाख १८, २०७९ आइतबार ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।