१२२ वर्षयताकै उच्च भयो अप्रिल महिनामा भारतको तापक्रम

एजेन्सीः यस वर्षको अप्रिल महिनामा भारतको तापक्रम १२२ वर्षयताकै उच्च पुग्यो। भारतको मौसम विभागले यही अप्रिल २८ सम्मको तथ्यांकको आधारमा तापक्रम १२२ वर्षयताकै उच्च भएको निष्कर्ष शनिबार निकालेको हो।
विभागले सन् १९०१ मा तापक्रम मापन सुरु गरेको हो। त्यसयता हालसम्मको तापक्रम अध्ययन गर्दा देशका विभिन्न भेगमा यसवर्षको अप्रिलमा औसतभन्दा ३.३५ डिग्री सेल्सियस उच्च देखिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
अप्रिल महिनामा मध्य र उत्तरपश्चिम भारतको औसत तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियस रहँदै आएकोमा यसवर्षको अप्रिलमा भने तीन डिग्री बढी मापन भएको इण्डियन एक्सप्रेसमा उल्लेख छ। दिल्ली, पञ्जाव, हरियाणा, राजस्थान, जम्मु-कश्मीर, लद्दाख, उत्तराखण्ड, हिमाञ्चल प्रदेश लगायत क्षेत्रमा औसतभन्दा बढी तापक्रम महसुस गरिएको बताइएको छ।
तापक्रम वृद्धिका कारण भारतका विभिन्न क्षेत्रमा तातो वायु चलेको र सोही कारण विद्युत र खानेपानी अभाव भएको बताइएको छ।
वैशाख १८, २०७९ आइतबार ०९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।