युक्रेनी सेनाले एक हजारभन्दा बढी रुसी ट्याङ्क ध्वस्त पारे, २३ हजार सेना मारिए: जेलेन्स्की

युक्रेनी सेनाले एक हजारभन्दा बढी रुसी ट्याङ्क ध्वस्त पारे, २३ हजार सेना मारिए: जेलेन्स्की
ध्वस्त भएको रुसी ट्याङ्क । तस्बिर: एएफपी

एजेन्सीः युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसको एक हजारभन्दा बढी ट्याङ्क ध्वस्त पारेको बताएका छन्। जेलेन्स्कीका अनुसार करिब दुई सय रुसी एयरक्राफ्ट र २५ सय बख्तरबन्द गाडी पनि ध्वस्त पारिएको छ।

यद्यपि रुसी सेनासँग अझै पनि हमला गर्नका लागि पर्याप्त उपकरणहरू रहेको उनले बताएका छन्।

'रुसी सेनासँग अझै उपकरणहरू छन्। हाम्रो भूमिमा प्रहार गर्न मिसाइल पनि छ। तर यो युद्धले रुसलाई पहिल्यै यति कमजोर बनाएको छ कि उनीहरूले मस्कोको परेडमा समेत थोरै सैनिक उपकरण प्रदर्शनको योजना बनाउनुपर्नेछ', जेलेन्स्कीले भने।

रुसले मे ९ मा मस्कोस्थित रेड स्क्वायरमा 'भिक्टरी डे' मनाउँदै आएको छ। दोस्रो विश्वयुद्धमा जर्मन सेनाले सोभियत सेनासमक्ष आत्मसमर्पण गरेको दिनलाई रुसमा भिक्टरी डेका रूपमा मनाउँदै आइएको छ।

यस्तै युक्रेनी राष्ट्रपतिले रुसले यो युद्धमा २३ हजारभन्दा बढी सेना गुमाइसकेको पनि बताएका छन्। यद्यपि यो कुनै आधिकारिक तथ्याङ्क भने होइन।

वैशाख १८, २०७९ आइतबार ०८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।