माछा मार्ने क्रममा दुई जनाको मृत्यु, अर्का एक जना सामुदायिक वनमा मृत फेला

माछा मार्ने क्रममा दुई जनाको मृत्यु, अर्का एक जना सामुदायिक वनमा मृत फेला

कैलालीः जिल्लाका विभिन्न स्थानमा भएको घटनामा तीन जनाको मृत्यु भएको छ। कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ भने सामुदायिक वनमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासि बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताएका छन्।

यस्तै जिल्लाको घोडाघोडी नगरपालिका–४, रामशिखरझालाका २२ वर्षीय नरेश बुढाको नजिकैको बेत्नी खोलामा बिजुलीद्वारा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। करेन्टबाट घाइते भएका बुढाको उपचारका क्रममा सुख्खड अस्पतालमा गए राति मृत्यु भएको हो।

मृतक बुढासँगै माछा मार्न सोही खोलामा गएका कैलाश ठगुन्ना, अनिल चौधरी र ललित बुढालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जोशीले बताएका छन्।

यता जिल्लाको गोदावरी नगरपालिका–४ बन्देगडा गाउँका ४० वर्षीय वीरबहादुर रोकामगरलाई प्रहरीले नजिकैको राजीताल सामुदायिक वनको गैराखोलामा शुक्रबार मृत अवस्थामा फेला पारेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वैशाख १७, २०७९ शनिबार १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।