सुरक्षा निकायका भर्ना हुँदा म्यादीलाई प्रथमिकतामा राख्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। आज गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको ‘स्थानीय तह निर्वाचन सम्बन्धमा सुरक्षा गोष्ठी' मा उनले सुरक्षा निकायका प्रमुखहरूलाई यस्तो निर्देशन दिएका हुन्।
‘निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ। उनीहरूले निर्वाचनमा सुरक्षा दिँदा नयाँभन्दा अनुभव प्राप्त हुन्छन्’, गृहमन्त्री खाँणले भने, ‘आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्ड अनुरूप भएका भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला।’
गृह मन्त्रालयमा भएको गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल तथा गृह मन्त्रालयका सहसचिवहरू फणिन्द्रमणि पोखरेल, टेकबहादुर केसी, प्रदीप कोइराला सहभागी थिए।
यस्तै भर्चुअल माध्यममार्फत सबै जिल्ला सुरक्षा समितिका पदाधिकारी, सबै प्रदेशका तीनै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।
गोष्ठीमा निर्वाचन सुरक्षा सम्बन्धमा देखा परेका चुनौती र तिनको समाधान गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए।
यस्तै गोष्ठीमा प्रदेशगत रूपमा एउटा प्रदेशबाट एक जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रस्तुति गरेका थिए। प्रदेश १ बाट झापाका प्रजिअ छविलाल रिजाल, मधेश प्रदेशबाट सप्तरीका जनार्दन गौतम, बागमती प्रदेशबाट काभ्रेका हुमकला पाण्डे, गण्डकी प्रदेशबाट बागलुङका रमेश ढकाल, लुम्बिनी प्रदेशबाट गुल्मीका पुण्यविक्रम पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका विजया प्रसाईं तथा सुदूरपश्चिम प्रदेशबाट दार्चुलाका दीर्घराज उपाध्यायले निर्वाचन सुरक्षाका सम्बन्धमा भए गरेका काम र निर्वाचन सम्पन्न गर्न देखिनसक्ने चुनौती र केन्द्रबाट आफूहरूले गरेका अपेक्षासम्बन्धमा प्रस्तुती राखेका थिए।
यस्तै गोष्ठीमा गृहमन्त्री खाँणले निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौती उपलब्ध स्रोत र साधन उपयोग गरेर सामना गर्न तयारी अवस्थामा रहन समेत निर्देशन दिएका छन्। उनले सीमित स्रोत साधन उपयोग गरेर अहिलेसम्म जिल्ला जिल्लामा भएको निर्वाचनको सुरक्षा सम्बन्धमा भएको तयारी प्रशंसायोग्य रहेको पनि बताएका थिए।
वैशाख १७, २०७९ शनिबार १३:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।