काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेनले पाए चुनाव चिह्न 'लौरो'

काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेनले पाए चुनाव चिह्न 'लौरो'

काठमाडौंः यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ। यसैबीच काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन शाहले चुनाव चिह्न 'लौरो' पाएका छन्।

आज राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट बालेनले चुनाव चिह्न पाएका हुन्।

लौरो चिह्न पाएपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- 'चुनाव चिह्न "लौरो", बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने।'

यस पटक काठमाडौं महानगरको मेयरमा एमालेबाट उम्मेदवार बनेका केशव स्थापित, गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका मदनदास श्रेष्ठ र स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन शाहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

यसैबीच एमालेबाट उम्मेदवार बनेका स्थापित भने 'मी टू' सहित सार्वजनिक मञ्चमा महिलालाई दुर्व्यवहार गरेयता विवादमा छन्।

वैशाख १७, २०७९ शनिबार १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।