चितवनका सात पालिकाबाट ३१९ जनाले लिए उम्मेदवारी फिर्ता

चितवनः जिल्लाका सात पालिकामा उम्मेदवारी दिएकामध्ये ३१९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरतपुर महानगरको प्रमुखमा तीन र उपप्रमुखमा तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
योसँगै भरतपुर महानगरपालिकाको प्रमुखमा २७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी कायम भएको छ। कायम भएका उम्मेदवारमध्ये प्रमुखमा १५ जना राजनीतिक दलका र १२ जना स्वतन्त्र उम्मेदवार हुन्। यस्तै उपप्रमुखमा आठ जना राजनीतिक दलबाट र दुई जना स्वतन्त्रबाट रहेको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अब जिल्लामा एक हजार ९५१ जनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लाका सात पालिकाको प्रमुखका लागि ६७, उपप्रमुखका लागि ४० जनाको उम्मेदवारी कायम भएको छ। वडा अध्यक्षमा ४२५, खुल्ला सदस्यमा ७३९, महिला सदस्यमा ३६६ र दलित महिला सदस्यमा ३१४ जनाको उम्मेदवारी कायम रहेको छ।
जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन्। सात पालिकामा कुल तीन लाख ९७ हजार ६८५ मतदाता छन्।
वैशाख १७, २०७९ शनिबार ११:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।