चन्द्रागिरिमा एक प्रमुख र दुई उपप्रमुखसहित ३३ उम्मेदवारको मनोनयन फिर्ता

काठमाडौंः चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन्। चन्द्रागिरिमा स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन्।
चन्द्रागिरिका निर्वाचन अधिकृत सिर्जना थपलियाले एक प्रमुख र दुई उपप्रमुखसहित ३३ जनाले मनोनयन फिर्ता लिएको जानकारी दिइन्। उनका अनुसार मनोनयन फिर्ता लिनेमा माओवादी केन्द्रबाट नगरपालिका प्रमुखका उम्मेदवार दिलबहादुर श्रेष्ठ, माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार रूपा महर्जन र कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार यमुनादेवी श्रेष्ठ रहेका छन्।
यस्तै, बाँकी ३० वडाध्यक्ष तथा वडासदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत थपलियाले बताइन्। चन्द्रागिरि नगरपालिकामा २१ प्रमुख र १० उपप्रमुखसहित ३८७ जनाको उम्मेदवारी परेको थियो। अब ७७ पदका लागि ३५४ जना प्रतिस्पर्धामा रहेका छन्।
काठमाडौं जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा रहेका छन्।
वैशाख १७, २०७९ शनिबार ०९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।