स्थापितबारे समाचार प्रकाशित गर्ने अनलाइनलाई काउन्सिलको पत्र, 'पूर्वाग्रही देखियो' सञ्चारकर्मी

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका तर्फबाट उम्मेदवार बनेका केशव स्थापितमाथि लागेको यौन दुर्व्यवहारबारे समाचार प्रकाशित गर्ने अनलाइन सञ्चारमाध्यमहरूलाई नेपाल प्रेस काउन्सिलले स्पष्टीकरण सोध्दै केहीलाई ध्यानाकर्षण पत्र पठाएको छ।
मेयरमा मनोनयन पत्र दर्ता गर्न जाँदा स्थापित आफैँले सञ्चारमाध्यममा बोलेको आधारमा समाचार प्रकाशित गरेका अनलाइन सञ्चारमाध्यमहरूलाई समेत प्रेस काउन्सिलले पत्र पठाएको छ।
काउन्सिलले शुक्रवार विज्ञप्ति जारी गर्दै अनुगमनमा कतिपय सञ्चारमाध्यमबाट राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुर्याउने, चरित्र हत्या हुने गरी अतिरञ्जित एवं दुराशययुक्त सामग्री सम्प्रेषण भएको देखिएको भन्दै १६ सञ्चारमाध्यमलाई स्पष्टीकरण माग गरिएको, ४ वटालाई निर्देशन दिएको, २ वटालाई ध्यानाकर्षण गराएको र दर्ता नभएको एउटालाई नेपालभित्र पढ्न नमिल्ने गरी कारबाही गरेको उल्लेख गरेको थियो।
काउन्सिलको विज्ञप्तिमा सञ्चारमाध्यमको नाम उल्लेख नभए पनि विज्ञप्ति जारी गर्ने रामशरण बोहोराको नाम उल्लेख गर्दै निर्वाचन आयोगले जारी गरेको निर्वाचन बुलेटिनमा भने सञ्चारमाध्यमको नाम र पत्र पठाउनुको कारण समेत समेत उल्लेख छ।
बुलेटिनमा उल्लेख भए अनुसार स्थापितमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे समाचार र विचार सम्प्रेषित गरेको भन्दै बाह्रखरी डटकम, नेपाल लाइभ डटकम, ई कान्तिपुर डटकम, शिलापत्र डटकम, नयाँपत्रिकाडेली डटकमलाई स्पष्टीकरण र ध्यानाकर्शण गराइएको छ।
सो बुलेटिनमा चार वर्ष अघिको अप्रमाणित घटनालाई उठान गरी व्यक्तिको मानहानि हुने काउन्सिलको भनाई रहेको उल्लेख गरिएको छ।
बाह्रखरीले' यौन दुराचारीलाई नै नगरपिता बनाउने हो' शीर्षकमा स्थापितले महानगरको मेयर भएको समयमा आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी रश्मिला प्रजापतिसँगको कुराकानीमा आधारित सामाग्री प्रकाशित गरेको थियो।
शिलापत्रलाई तीन दिने स्पष्टिकरण सोधेको छ। शिलापत्रले 'केशव स्थापितलाई मेयरको टिकट दिएर यौन हिंसा संस्थागत गर्न खोजियो' भन्ने शिर्षकमा रश्मिलासँगको कुराकानीमा आधारित सामाग्री प्रकाशित गरेको थियो।
नेपाल लाइभ, ई कान्तिपुर र नयाँ पत्रिकालाई मेयरको उम्मेदवारी दर्तापछि यौन दुर्व्यवहारको आरोपबारे राष्ट्रिय सभा गृहमा पत्रकारले सोधेको प्रश्नमा स्थापितले दिएको जवाफमा आधारमा लेखिएको समाचारको विषयमा समेत ध्यानाकर्षण गराएको उल्लेख छ।
बिहीबार एक सार्वजनिक कार्यक्रममा सहभागी स्थापितलाई एक सहभागीले यौन दुर्व्यवहारको आरोपबारे सोधेको प्रश्नमा स्थापित मञ्चमै आक्रोशित भएर अभद्र व्यवहार प्रदर्शन गरेपछि उनीको तीव्र आलोचना भइरहेको छ। आलोचना बढेको दोस्रो दिनमै काउन्सिलले पत्र पठाउनु संयोग मात्र हो त ?
काउन्सिलका सूचना अधिकारी बोहोरा निर्वाचन संहिता र पत्रकार आचारसंहिताको अनुगमनको क्रममा देखिएका विषयवस्तुहरू दैनिक रूपमा आयोगमा पठाउने गरेको र संहिता प्रतिकुल सामाग्री देखिएमा ध्यानाकर्षण गराउने र स्पष्टीकरण सोध्ने गरिएको बताए।
उनले दैनिक रूपमा आयोगमा विवरण पठाउने गरेको उकेरासँग बताए। तर स्पष्टीकरण सोधिएको र ध्यानाकर्षण गराइएको सामाग्री पुराना हुन्।
उनले उम्मेदवारले बोलेको आधारमा समाचार प्रकाशित गर्नेलाई त्यस्ता प्रकारको सामाग्री प्रकाशित नगर्न ध्यानाकर्षण गराएको र आरोपलाई मात्रै कोड गरेर प्रकाशित सामाग्रीको बारेमा तीन दिनको स्पष्टीकरण सोधिएको भन्दै भने' यसलाई गम्भीर रूपमा नलिऊँ।
कुनै पार्टीका उम्मेदवार जोविरुद्ध सार्वजनिक रुपमै आरोप लागेको छ अनी उनैले सार्वजनिक स्थानमा बोलेको विषयमा समाचार प्रकाशित गरेको आधारमा प्रष्टिकरण सोध्नु अनी सचेत गराउने काउन्सिलको काम राजनितिक प्रेरित देखियो नि भन्ने जिज्ञासामा उनले भने' यस्तो हैन। हामी राजनीतिक रुपमा प्रेरित छैनौँ। यसलाई गम्भिर रुपमा नलिउँ। बसेर छलफल गरौँला। मेरो बाध्यता पनि बुझिदिनुहोला।'
तीन दिनको स्पष्टीकरण सोधिएको बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले काउन्सिलबाट आएको पत्रको जवाफ पठाइसकिएको बताए। आयोगको संहिताको अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नभएको र सबै संहिता पालना गरेरै सामाग्री प्रकाशित भएको बताउँदै उनले भने' कुनै सार्वजनिक व्यक्तिको बारेमा सार्वजनिक रूपमा उठेको विषय प्रकाशित गर्नु कुनै पनि संहिता विपरीत हुँदैन। यसमा काउन्सिल चुकेको छ।'
उनले काउन्सिलको गतिविधि राजनीति प्रेरित रहेको समेत बताए। 'सार्वजनिक व्यक्तिबारे सार्वजनिक भएको विषयमा विचार वा समाचार प्रकाशित गर्दा जसरी पत्र काटियो त्यो राजनीतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ। हामीले लड्ने यस्तै प्रवृत्ति विरुद्ध हो,' प्रधानले भने।
प्रेस काउन्सिलका वर्तमान अध्यक्ष बालकृष्ण बस्नेत एमाले नेतृत्वको समयमा काउन्सिलमा नियुक्त भएका हुन्।
वैशाख १६, २०७९ शुक्रबार २१:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।