चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि कांग्रेस महामन्त्री शर्माका ७ प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वस्थ चुनावी प्रतिस्पर्धाका लागि सात प्रस्ताव अघि सारेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट नेपाल सांस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति? विचार गोष्ठी एवं चुनावी गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले ती ७ प्रस्ताव अघि सारेका हुन्।
उनले प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अघि बढाउनु पर्ने, हरेक दलले विगतमा जे जस्ता गल्ती र कमजोरी जे गरेका छन जनता समक्ष आत्मालोचना गर्ने र नदोहोर्याउने संकल्प र प्रतिबद्धता गर्ने, स्वस्थ र तथ्यपुर्ण आलोचना गर्ने, आपसलाई गाली नगर्ने, प्रतिस्पर्धी उम्मेदवारलाई दुस्मन नठान्ने, मित्रवत् व्यवहार गर्ने र निर्वाचनलाई स्वस्थ बनाउन सहकार्य गर्नु पर्ने बताए।
यस्तै शर्माले जनतालाई धेरै सपना नदेखाउने पूरा गर्न नसक्ने र जनतालाई निराश बनाउने गलत प्रवृत्ति अन्त्य गरी पाँच वर्षमा गर्न जरुरी काम र गर्न सक्ने काम मात्र बोल्ने, आचारसंहिता संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको सीमा भित्र रहेर पालना गर्ने र गराउने, अपारदर्शी फजुल खर्च पारदर्शी र मितव्ययी ढंगले खर्च गर्ने, पैसा नहुनेले चुनाव लड्न नसक्ने बन्दै गएको छवि र स्थिति अन्त्य गर्न गम्भीर बन्नु पर्ने बताए । महामन्त्री शर्माले उम्मेदवारको आर्थिक र पारिवारिक जीवनको पारदर्शिता खोजी गर्ने मतगणनामा जिम्मेवार बन्ने र मत परिणामलाई हार्दिक ढंगले स्वीकार गर्ने स्वस्थ संस्कृतिको जगमा आजको लोकतान्त्रिक व्यवस्थाप्रति जनताको विश्वास अझ बलियो बनाउने तर्फ लाग्नुपर्ने बताए।
सोही कार्यक्रममा स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका पक्षमा चुनावी गीत सार्वजनिक गरेको छ। सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत, राधिका हमाल, सुजाता केसी, शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज केसीको निर्देशनमा तयार भएको हो।
वैशाख १६, २०७९ शुक्रबार २१:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।