शहरमा सिर्जना
 
                    
                    
                    
                    कान्तिपुर शहरमा गर्ने कामको कुनै कमी छैन। केही दिनदेखि शहर चुनावको रङमा रंगिएको छ। मौसम शुरु भएको छ। दिन बिताउन मुश्किल छैन।
मेरो बिहान गौशाला चोकदेखि बानेश्वर चोकसम्म लखर-लखर गर्दागर्दै बित्छ। दिउँसो सम्भावनाहरुको खोजीमा बित्छ। गौशाला परिसरमा थरीथरीका मानिस भेटिन्छन्, जो जीवनबाट थाकेका छन्। निराश छन। तैपनि, आत्महत्या गर्न डराएका छन्। उनीहरुको जीवन हरिकथामा लीन भएको छ। बेंकटेस मन्दिर, राम मन्दिर र द्वारिका होटलको चहक-महकमा जीवन सुगम ढंगले चलिरहेको छ।
यस्तो अवस्थामा पनि धूर्तहरुले हरिको नाममा, हिन्दू जातिको नाममा, समाजको शोषण गरिरहेका छन्। हरि त हरि पो हुन्छ। हरि हिन्दू पनि हुँदैन। मुसलमान पनि हुँदैन। तर गर्नु के र? जे हुँदैन त्यसैबाट मान्छेको जात पीडित भइरहेको हुन्छ। मानिस बिचरो, असीमित दुःखमा अल्झिइरहेको हुन्छ।
मानिसको मन कति अन्योलमा हुन्छ। जीवनको उत्तरार्धमा टेकेदेखि नै ऊ भन्ने गर्छ- मर्न पाए पनि आनन्द हुन्थ्यो। तर मृत्युलाई प्रत्यक्ष देख्दा ऊ झस्किन्छ। अत्तालिन्छ र भाग्न थाल्छ। आनन्द मान्न सक्दैन।
यो फुटपाथ, जहाँ म उभिइराखेको छु, यसको जग युवा नेता सुनिल गौतमको घरको जगसँग जोडिएको छ। सुनिल गौतम राम्रो राजनीतिक कार्यकर्ता थियो। राजनीतिक त अहिले पनि छ। कार्यकर्ता छ कि छैन थाहा छैन।
हरि श्रेष्ठ अर्को राजनीतिक कार्यकर्ता थियो जो क्षेत्रपाटीको कोपबाट जोगिन सकेन। रामजीलाई पनि पन्छाइयो। क्षेत्रपाटीले धेरै कार्यकर्तालाई निराश बनायो। नेपाली कांग्रेसले कहिल्यै शहरी नेतृत्वको प्राथमिकतामा राखेन शहर वरपर बस्ने युवाहरुलाई। कांग्रेस पार्टी त्यस्तो पार्टी हो जसले आफ्ना कार्यकर्तालाई तालिम दिन त जानेकै छैन।
अहिले एमालेका नेता केपी ओलीको कृपादृष्टि परेर शहरको मेयर भएका विद्यासुन्दर शाक्यले सुनिल गौतमको घर छेउलाई टोलभरिको डम्पिङ साइट बनाइदिएका छन्। महानगरपालिकाले यहाँ जम्मा भएको फोहोर कहिलेसम्म उठाउने हो कसैलाई थाहा छैन।
अहिले डिजेलको अभाव फोहोर नउठाउने बहाना बनेको छ। यहाँको फोहोर उठाइएको दिन वरपरका पसलेहरु दंग पर्नेछन्।
वैशाख ३० गते हुने स्थानीय सरकारको चुनावमा उनीहरुले कसलाई भोट देलान्? यो भन्न गाह्रो छ। उमेर अठार वर्ष पूरा भए पनि सोह्र वर्षका केटाहरुको जस्तो बुध्दि भएकाहरुले र्यापर बालेन शाहलाई भोट देलान्। बालेन शाह ९० हजार भोट पाउने हिसाब लगाएर बसेका छन्। यो त भन्नु पर्दैन- चुनावमा भोट हाल्नेहरु सबै वालिग हुँदैनन्।
सिर्जनालाई इन्दिरा गान्धीसँग तुलना गर्न त मिल्दैन। इन्दिरालाई ठूला नेताहरु गुँगी गुडिया भन्थे। ती 'गुंगी गुडिया' ले भारतको नक्सा नै बदलिदिइन्। सिर्जनाले काठमाडौं शहरको कायापलट गर्ने सामर्थ्य राख्नुपर्छ।
अर्का उम्मेदवार छन्- नेपाल कम्युनिष्ट पार्टी एमालेका ओली समूहका नेता केशव स्थापित। उनी उहिले कुन्नी कुन जमानामा काठमाडौं महानगरका मेयर बनेका थिए। आफ्नो त्यही कार्यकाल सम्झेर आफू बाहेक मेयर पदको चुनाव जित्न काबिल अर्को मानिस नभएको दावी गर्दैछन्।
केशव स्थापित 'मी टु अभियान' का अभियन्ता हुन्। उनले एक सार्वजनिक कार्यक्रममा एक जना मी टु अभियन्तालाई काँचै खाउला जस्तो गरी भने- तपाईं मानिस राम्रो, तपाईंको थुतुनो खराब।
त्यो भनाइ कोरोना फैलिएसरी फैलिएर भाइरल भयो शहरभरि। केशव स्थापित मख्ख परे। उनी भाइरल हुन खोजेका थिए, भाइरल भइहाले। भाइरल भएपछि बाँकी प्रचार गर्नै परेन। प्रचार त आखिर प्रचार नै हो।
अनुदारवादी काठमाडौंमा केशव स्थापितको उदारवादी कथनले मतदाता भड्किने डर बढ्यो। घरका अभिभावकहरु आफ्ना छोरी-बुहारीलाई मतदान केन्द्रमा पठाउनै डराए। भोट दिन जाँदा केशव स्थापित आएर मी टु अभियान चलायो भने के होला? केशव स्थापित मेयर भएको बेलामा के भएको थियो र अहिले नहुँदा के हुन्छ?
यसपछि त नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरको मेयर पदको उम्मेदवारका रुपमा प्रस्तुत भएकी नेतृ श्रीमती सिर्जना सिंहको चर्चा गर्नै पर्यो। सिर्जना सिंह देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहयोगी रहेका तथा नेपाली कांग्रेस प्रजातान्त्रिकको संस्थापकमध्ये सबभन्दा प्रखर नेता प्रकाशमान सिंहकी श्रीमती हुन्।
प्रकाशमान सिंह सबभन्दा पछिल्लो समयमा नेपाली कांग्रेसका सभापति पदमा देउवाका विरुध्द उठेर नमिठोसँग पछारिएका थिए। त्यसपछि यो स्वाभाविक थियो कि उनले आफूलाई समर्पित गरे। कुरा बुझिएन त?
गणेशमान सिंहसँग भेट्न र कुरा गर्न देश-विदेशका पत्रकारहरु लालयित रहन्थे। विभिन्न प्रसंगमा गणेशमान सिंह भन्नुहुन्थ्यो- म अब लौहपुरुष रहिनँ। स्वतन्त्रताका लागि लड्दालड्दै लोहा जति भष्म भैसक्यो। अब मलाई 'लौह भष्म पुरुष' भने हुन्छ।
देशको सर्वाधिक प्रसिद्ध राजनीतिक परिवारकी बुहारी, एक सचेत नागरिक, एक स्वतन्त्र चेतना भएकी महिलाका रुपमा सिर्जना सिंहले चुनाव जित्नुपर्छ। त्यसमा यो स्तम्भकार उनको पक्षमा उभिने छ। काठमाडौं महानगरको मेयर पदको यो प्रतिष्ठापूर्ण चुनावमा उनको अर्को विकल्प पनि छैन।
सिर्जनालाई 'गुंगी गुडिया' सावित गर्न जो-जोले उनलाई आरजु देउवा र गगन थापासँग सिक्नुपर्ने अर्ति दिएका छन्, ती राजनीतिका फाल्टु जोकर हुन्। सिर्जनाले कम बोलुन् र धेरै काम गरुन्। काठमाडौं शहरलाई शहर जस्तो बनाउन उनले सिर्जनात्मक मष्तिस्कहरुलाई प्रोत्साहित गर्नुपर्छ।
मानिसहरुले सोचेजस्तो, सिर्जना राजनीतिमा कच्चा छैनन्। उनको माइती राजनीतिक हिसाबले सचेत थियो। उनलाई थाहा छ, मानिसहरुको मन जित्न सारै ठूलो काम गर्नुपर्दैन।
सिर्जनालाई इन्दिरा गान्धीसँग तुलना गर्न त मिल्दैन। इन्दिरालाई ठूला नेताहरु गुँगी गुडिया भन्थे। ती 'गुंगी गुडिया' ले भारतको नक्सा नै बदलिदिइन्। सिर्जनाले काठमाडौं शहरको कायापलट गर्ने सामर्थ्य राख्नुपर्छ।
गाथाहरू
वैशाख १६, २०७९ शुक्रबार १९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    