निर्वाचनमा प्रतिगमन शक्तिको पराजय हुन्छः अध्यक्ष नेपाल

काठमडाौँ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमन शक्तिको पराजय हुने बताएका छन्।
यहाँ आज आयोजित वहिर्गमित जनमुक्ति सेना नेपालका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले जनताको सुखी र समृद्ध हुने चाहनाका साथै देशलाई समुन्नत बनाउन अग्रगमन शक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए। उनले एकीकृत समाजवादी पार्टी पुष्पलालकालीन कम्युनिष्ट पार्टीको निरन्तरता भएको बताउँदै पार्टी देश र जनताको पक्षमा क्रियाशील भएको विषयमा परीक्षण भइसकेको विचार व्यक्त गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफू बृहत् बाम एकतासँगै लोकतन्त्रप्रेमी शक्तिसँग कार्यगत एकता गरेर प्रतिगमनविरुद्व सङ्गठित भएर अघि बढ्दै पार्टीे सङ्गठनलाई टोलसम्म विस्तार गर्न पनि नेता कार्यकर्तालाई आग्रह गरे।
राष्ट्रियसभा निर्वाचनबाटै विजयको सुरुआत भएकाले गठबन्धनमा आबद्ध दल सामूहिकरूपमा अगाडि बढ्नुपर्ने बताउँदै उनले गठबन्धनभित्रका दलले अहङ्कार राख्न नहुने र वस्तुनिष्ठ भएर अगाडि बढ्नुपर्ने सुझाव दिए।
मनोनयन दर्ताका क्रममा पार्टीबाट ३५ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको जनाइएको छ। पार्टीबाट एकल उम्मेदवारी परेसँगै पार्टीका तर्फबाट दुई गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, छ वडाअध्यक्ष र २६ सदस्य निर्विरोध निर्वाचित भएको जानकारी दिइयो।
वैशाख १६, २०७९ शुक्रबार १८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।