उम्मेदवारीलाई मनोनयन फिर्ताका लागि दबाब नदिन आयोगको ध्यानाकर्षण

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ। उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना प्राप्त भएको जनाउँदै आयोगले यस्ता गतिविधि नगराउन सरोकारवालालाई आग्रह गरेको हो।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'यस्ता गतिविधिले कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवं कानुनी अधिकार कुण्ठित हुन जाने भएकाले निर्वाचनलाई प्रभाव पार्ने गतिविधि नगर्न–नगराउन सरोकारवाला सबैप्रति आग्रह गर्दछ।' यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारले आज अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन फिर्ता लिनसक्ने आयोगले जनाएको छ। कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरी उम्मेदवारको नामावली प्रकाशित भएपछि आफूलाई उम्मेदवार फिर्ता लिन इच्छा भएमा लिखित सूचना दिएर मात्रै उम्मेदवारी फिर्ता हुनसक्ने आयोगले प्रष्ट पारेको छ।
दलका तर्फबाट मनोनयन पत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिनेगरी लिखितरुपमा लेखी पठाएमा मात्रै उम्मेदवारको नाम फिर्ता हुने आयोगले जनाएको छ।
आयोगले सम्पूर्ण राजनीतिक दल, तिनका उम्मेदवारलाई संविधान र कानुनको पूर्ण परिपालना गर्न, गराउन र मनोनयन दर्ता गरिसकेका स्वतन्त्र उम्मेदवारलाई आफ्नो मनोनयन फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निजको स्वविवेकीय अधिकारको सम्मान गर्न पनि आग्रह गरेको छ।
राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ सङ्गठनले कुनै उम्मेदवार वा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसुर तथा आचारसंहिताविपरीत कार्य भएकाले यस्ता कार्य कुनै पनि हालतमा नदोहोर्याउन आयोगले स्मरण गराएको छ।
वैशाख १६, २०७९ शुक्रबार १६:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।