लोसपाको घोषणापत्र: योजनाभन्दा गुनासो नै बढी, नेपाल भावनात्मक रूपमा एक नभएको उल्लेख

लोसपाको घोषणापत्र: योजनाभन्दा गुनासो नै बढी, नेपाल भावनात्मक रूपमा एक नभएको उल्लेख

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह निर्वाचनको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा दलका शीर्ष नेताहरूले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा नेपाल भौगोलिक रूपमा एक भए पनि भावनात्मक रूपमा एक हुन नसकेको उल्लेख छ। यस्तै नेपालको सबैभन्दा ठूलो चुनौती क्षेत्रीय, सामुदायिक, धार्मिक र जातीय विविधता एवम् भौगोलिक र अन्य कारणले फरक हुन गएका राष्ट्रहरूलाई एकै राज्यमा स-सम्मान आत्मसात गर्नु र राष्ट्र-राज्यको दिशामा अग्रसर हुनु रहेको बताइएको छ।

यस्तै घोषणापत्रमा लोकतन्त्र औपचारिकतामा सीमित भएको र समावेशिता पश्चगमनतिर लम्केको पनि बताइएको छ। संघीयतालाई असफल र असान्दर्भिक बनाउने प्रयास भइरहेको पनि दावी गरिएको छ।

नेपाली कांग्रेसलाई ठूलो पार्टी भए पनि काम सानो गर्ने भनिएको छ। कम्युनिष्ट पार्टीहरूलाई विचारशून्य, सत्तालोलुप र राजनीतिक उद्यमीको संज्ञा दिइएको छ। जनता समाजवादी पार्टीलाई मुद्दाविहीन, जातीय केन्द्रित र सत्तामुखी पार्टीको उपमा दिइएको छ।

यस्तै नेपालको संविधान प्रक्रिया र परिणाम दुवै अर्थमा अपूर्ण भएको लोसपाको ठहर छ। 

लोसपाको घोषणापत्रमा योजनाभन्दा गुनासोलाई नै बढी प्राथमिकता दिइएको छ।

यस्तै लोसपाले आफ्नो उपलब्धिमा प्रदेश नम्बर २ को नामाकरणको कुरा उल्लेख गरेको छ। आफ्नै मूल अगुवाइमा 'मधेश प्रदेश' नामाकरण र जनकपुर राजधानी घोषित भएको लोसपाको दावी छ।

यस्तै योजनाहरूमा लोसपाले हरेक पालिकामा कम्तीमा दुई वटा दमकलको व्यवस्था गर्ने उल्लेख गरेको छ। केही महानगर र उपमहानगरमा धान्नै नसकिने गरी घर भाडा र अन्य करहरू भएको हुँदा यसमा पुनर्विचार गरिने पनि बताइएको छ।

हरेक पालिकामा २५ शय्याको आपत्कालीन र प्रविधियुक्त अस्पताल स्थापना गरिने उल्लेख छ। उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षाको भरपर्दो व्यवस्था गरिने भनिएको छ। महिलामैत्री पूर्वाधार र विशेष सुविधाको व्यवस्था गरिने उल्लेख छ।

यस्तो छ घोषणापत्रको पूर्णपाठ

वैशाख १६, २०७९ शुक्रबार १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।