केशव स्थापितको समर्थनमा राप्रपा मेयर उम्मेदवार ब्याक गराउने तयारी

केशव स्थापितको समर्थनमा राप्रपा मेयर उम्मेदवार ब्याक गराउने तयारी

काठमाडौँ : काठमाडौँ महानगरको मेयरमा दिएको उम्मेदवारी फिर्ताबारे राष्ट्रिय प्रजातन्त्र पार्टीमा छलफल सुरु भएको छ। राप्रपाले महानगरमा कलाकार मदनदास श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

उनले उम्मेदवारी दर्ता गरिसकेका छन्। आज उम्मेदवारी फिर्ताको अन्तिम दिन हो। राप्रपा स्रोतका अनुसार उम्मेदवारी फिर्ताको निर्णय आज नभई २-३ दिनपछि हुनसक्छ।

स्रोतका अनुसार एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई समर्थन गर्दै उम्मेदवारी फिर्ताको तयारी गरिएको हो। भरतपुर महानगरमा समेत एमाले-राप्रपा गठबन्धन बनेको छ।

केही वडा राप्रपालाई दिने वा प्रदेश र सङ्घको सहकार्यको सहमति गरेर स्थापितको समर्थनमा श्रेष्ठ ब्याक हुने छलफल चलिरहेको छ।

'उम्मेदवारी कायम गर्ने कि फिर्ता गर्ने भन्ने छलफल चलिरहेको छ,' उम्मेदवार मदनदासलाई उनको योजनाबारे कुरा गर्न उकेराले सम्पर्क राख्दा भने' के गर्ने भन्ने ३-४ दिनमा थाहा हुन्छ। अनि कुरा गरौला।'

मेयरको उम्मेदवारी दर्ताको बेलामा स्थापितले मदनदासलाई उम्मेदवारी फिर्ता लिएर आफूलाई सघाउन आग्रह गरेका थिए। उनले जे-जे योजना छ म पूरा गर्छु भन्दा मदनदास हाँसे मात्र।

गठबन्धनको उम्मेदवारलाई हराउन एमालेले स्थापितलाई मेयरको उम्मेदवार बनाएको थियो। उनी मेयरहुँदा यौन दुर्व्यवहार गरेको आरोप अनि सार्वजनिक मञ्चमा गरेको अभद्र व्यवहारले उनको आलोचना बढेको।

आलोचना बढेसँगै कमजोर हुनसक्ने आङ्कलन गरेर एमाले र राप्रपाबिच ताममेलको छलफल सुरु भएको हो। राप्रपा स्रोत एमाले अध्यक्ष केपी ओलीले नै सहयोगको प्रस्ताव राखेका हुन्।

वैशाख १६, २०७९ शुक्रबार ११:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।