कांग्रेसका बागी उम्मेदवारले मनोनयन फिर्ता नलिए स्वतः पार्टीबाट निष्काशित हुने

कांग्रेसका बागी उम्मेदवारले मनोनयन फिर्ता नलिए स्वतः पार्टीबाट निष्काशित हुने

काठमाडौं: नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टी र गठबन्धनविरुद्ध उठ्ने बागी उम्मेदवारहरूलाई पार्टीबाट निष्काशन गर्ने उर्दी जारी गरेको छ। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने जानकारी दिएका हुन्।

उनले आज पाँच बजेभित्र यसरी दर्ता भएको उम्मेदवारी फिर्ता लिन पनि विज्ञप्तिमार्फत निर्देशन दिएका छन्। निर्वाचन आयोगले पनि आज साँझ ५ बजेसम्मलाई मनोनयन फिर्ताको समय तोकेको छ। 

'२०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे र गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय आज वैशाख १६ गते शुक्रबार बिहान १० बजेदेखि ५  बजेसम्म उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ', विज्ञप्तिमा लेखिएको छ। 

यस्तै तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, उनीहरूको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने जनाइएको छ।

वैशाख १६, २०७९ शुक्रबार १०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।