यूएनका महासचिवको भ्रमणकै बेला किभमा रकेट प्रहार, भने- 'सुरक्षा परिषद्लाई पक्षघात भयो'

यूएनका महासचिवको भ्रमणकै बेला किभमा रकेट प्रहार, भने- 'सुरक्षा परिषद्लाई पक्षघात भयो'

एजेन्सीः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस युक्रेनको राजधानी किभको भ्रमणमा रहेको बेला नै त्यहाँ रकेट प्रहार भएको छ। बीबीसीका अनुसार रकेट प्रहारपछि उनले राष्ट्रसंघकै सुरक्षा परिषद्को आलोचना गरेका थिए।

उनले युक्रेनमा युद्ध रोक्न वा अन्त्य गर्न राष्ट्रसंघको सुरक्षा परिषद् असफल भएको बताए। "म प्रष्टसँग भन्दैछु यसले (परिषद्) आफ्नो शक्ति प्रयोग गर्दै यस युद्धलाई रोक्न र अन्त्य गर्न असफल भयो," उनले भने।

१५ सदस्यीय सुरक्षा परिषद्लाई विश्वव्यापी शान्ति र सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ। तर फेब्रुअरीबाट रुसले सुरु गरेको हमलाका कारण भूमिका निर्वाह गर्न नसकेको भन्दै परिषद्ले युक्रेनको सरकारबाट समेत आलोचना खेप्दै आएको छ।

रुस सुरक्षा परिषद्को स्थायी सदस्य भएको हुँदा ऊसँग भिटो प्रयोग गर्ने अधिकार छ। यस सन्दर्भमा रुसले एकभन्दा बढी भिटो प्रयोग गरेको छ।

बिहीबार साँझ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गुटेरेसले संयुक्त पत्रकार सम्मेलन गरेका थिए। त्यहाँ उनले भने, 'म यहाँ तपाईंलाई भन्न आएको हुँ राष्ट्रपति महोदय, र युक्रेनका जनतालाई, हामी हार मान्ने छैनौं।'

गुटेरेसले सुरक्षा परिषद्को आलोचना गरेर 'पक्षघात' भएको भने पनि आफ्नो संगठनको बचाउ गरेका थिए। उनले संयुक्त राष्ट्रसंघले अन्य कामहरू गरेको बताएका थिए।

'युक्रेनमा यूएन भनेको एक हजार चार सय कर्मचारी हुन्। उनीहरूले सहायता , खाना, नगद र अन्य सहयोग उपलब्ध गराउँदै आएका छन्', उनले भने।

वैशाख १६, २०७९ शुक्रबार ०८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।