गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा परिपालना गरौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धनमा रहेका र उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्वबाट बिमुख नहुन आग्रह गरेका छन्।
मध्यपुरथिमि नगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख तथा उपप्रमुख उम्मेदवारलाई स्थानीय तह निर्वाचनका सन्दर्भमा आवश्यक निर्देशन दिँदै उनले गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा इमान्दार भएर परिपालना गर्न आग्रह गरे। अध्यक्ष दाहालले चुनावी तयारीबारे बुझ्दै आवश्यक निर्देशन दिएको माओवादीका कन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिए। गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र उपप्रमुखका उम्मेदवार विजयकृष्ण श्रेष्ठसँग उनले आज छलफल गरेका हुन्।
अध्यक्ष दाहालले वर्तमान गठबन्धनको विरुद्धमा देशी–विदेशी शक्ति लागिरहेकाले उनीहरूको भ्रम र प्रहारलाई परास्त गर्दै एकढिक्का भएर चुनावी अभियानमा लाग्न निर्देशन दिएको नेता ढकालको भनाइ छ। अध्यक्ष दाहालले लोकतन्त्र र संविधान रक्षाका लागि जनताले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने विश्वाससमेत व्यक्त गरे।
देशैभर गठबन्धनको पक्षमा जनता खुलेर लागेको जानकारी गराउँदै उनले स्थानीय चुनावले प्रतिगामी र यथास्थितिवादीहरूलाई पाखा लगाउँदै लोकतान्त्रिक र अग्रगामी शक्तिलाई स्थानीय सरकारको साँचो सुम्पने दाबी गरे। व्यवस्था परिवर्तनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वदायी भूमिका रहँदै आएको स्मरण गर्दै अध्यक्ष दाहालले वर्तमान गठबन्धन व्यवस्था रक्षाका लागि भएको र सम्पूर्ण मतदातालाई यो कुरा बुझाउनु आवश्यक भएको बताए।
उनले मध्यपुरथिमिमा आफू पटक–पटक आइरहेको र यहाँको समस्याबारे जानकार रहेको भन्दै मध्यपुरलाई नमूना नगरपालिकाको रूपमा विकास गर्न आफ्नो र पार्टीको तर्फबाट सक्दो पहल गर्ने बताए।
“अध्यक्षले अगाडि बढ्नुस्, मध्यपुरलाई नमूना नगर बनाउन मेरो साथ रहन्छ भन्नुभएकाले उत्साहित भएर आएका छौँ”, उपप्रमुखका उम्मेदवार विजयकृष्ण श्रेष्ठले भने। मध्यपुरथिमिमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ नेपाली कांग्रेसका निवर्तमान नगर सभापति हुन् भने उपप्रमुख उम्मेदवार विजयकृष्ण श्रेष्ठ माओवादी केन्द्रका नगर अध्यक्ष हुन्।
वैशाख १५, २०७९ बिहीबार २१:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।