सिवाइसी नेपालको आइपिओ बाँडफाँट, तीन हजार बढीको आवेदन रद्द

काठमाडौँ : सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट भएको हो।
बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २२ लाख पाँच हजार ६३३ जनाले दुई करोड ४५ लाख २० हजार १४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। आवेदन दिएकामध्ये तीन हजार २७२ आवेदन रद्द भएको र बाँकी २२ लाख दुई हजार ३६१ योग्य आवेदकमध्ये ३६ हजार ९४८ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ। त्यसमा बाँकी आठ कित्ता शेयर १० कित्ता भन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप आठ जनालाई बाँडिएको कम्पनीले जनाएको छ।
कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा निष्कासनको पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट (मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।
वैशाख १५, २०७९ बिहीबार १७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।