कांग्रेसले कारबाही गरेपछि मल्लद्वारा प्रदेशसभा सदस्यबाट राजीनामाको घोषणा

कांग्रेसले कारबाही गरेपछि मल्लद्वारा प्रदेशसभा सदस्यबाट राजीनामाको घोषणा

काठमाडौँ : कांग्रेसले कारबाही गरेपछि सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आज (बिहीबार) डडेल्धुरामा पत्रकार सम्मेलन गर्दे मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ, उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले दिँदैन। आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चार माध्यमबाट घोषणा गर्दछु।’

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवशेन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए। 

आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो। 

वैशाख १५, २०७९ बिहीबार १५:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।